अर्जुनधारा । नेपाली कांग्रेस सम्बद्ध मजदुर संगठन काउन अर्जुनधाराका नगर अध्यक्ष अशोक राईलाई पितृशोक परेको छ ।

अर्जुनधारा-७ पाराखोपीस्थित निजी निवासमा अध्यक्ष राईका पिता गणेशमान राईको आज बिहान ८५ वर्षको उमेरमा निधन भएको हो । गणेशमानको विगत ६ वर्षदेखि मस्तिष्कमा असर परेपछि उपचार गर्दै घरैमा बसेका थिए । आज बिहानपख करेसाबारीमा हिँड्दै गर्दा लड्न पुगेपछि उनको निधन भएको परिवारले जनाएको छ ।

गणेशमानका ४ भाई छोरा र ५ बहिनी छोरी छिन् । जेठा डिकबहादुर, माइला छविलाल, साईला कमल र कान्छा अध्यक्ष अशोक राई हुन् । कान्छा छोरा अशोक अर्जुनधाराका मजदुर नेतामात्र होइनन्, सामाजिक अभियान्ता पनि हुन् । उनी किरात राई यायोक्खाको सम्मानित व्यक्तिको रुपमा परिचित छन् ।

रंगरोगनको क्षेत्रमा काम गर्दै आएका अशोकले नगर क्षेत्रका विभिन्न मन्दिर, सामािजक संस्थालगायत विद्यालय क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनका स्व. पिता गणेशमानको किरात संस्कारअनुसार बुधबार नै अर्जुनधाराको सालबारीमा दाहसंस्कार गरिएको छ ।