भीम चापागाईं,
इलाम । नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि जिल्लामा आइसोलेसन कक्ष तयार गरिने भएको छ। इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसन तोकिने भएको हो।

कोभिड–१९ का शंकास्पद बिरामी भेटिए आइसोलेसनमा राख्नेगरी जिल्लाका सरोकारवालाको बैठकले निर्णय गरेको छ। आइसोलेसन कक्षको व्यवस्थापन इलाम अस्पतालले गर्नेछ। ‘उच्च ज्वरो, रुघाखोकी लागी कोभिड–१९ का शंकास्पद अन्य लक्षण देखिएका व्यक्तिलाई आइसोलेसनमा वार्डमा रिफर गरिनेछ,’ बैठकको निर्णयमा उल्लेख छ, ‘जिल्लामा सञ्चालित एम्बुलेन्सको विवरण संकलन गरी महामारीको समयमा सञ्चालन हुनेगरी तयारी हालतमा राखिनेछ।’

भारतसँग जोडिएको पशुपतिनगर नाकामा सञ्चालनमा रहेको हेल्प डेस्कमा सीमा आउजाउ गर्ने व्यक्तिको विवरण राख्ने व्यवस्था मिलाइने भएको छ। सीमा क्षेत्रमा रहेका स्थानीय लाइन एजेन्सीका प्रतिनिधिले भारतीय समकक्षीसँग औपचारिकरअनौपचारिक बैठक–समन्वय गर्नेगरी जिम्मेवारी तोकिएको छ।

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई ‘अति जरुरी कामबाहेक’ अन्य बिदामा नछाड्न सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र इलाम अस्पताललाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

जिल्लामा रहेको ‘र्‍यापिड रेस्पोन्स टिम’लाई कोरोना नियन्त्रण र रोकथामका लागि ‘क्विक रेस्पोन्स टिम’का रूपमा तत्काल परिचालन हुनेगरी व्यवस्था मिलाइएको छ। प्रकोपजन्य रोग ९कोरोना० प्रतिकार्य योजना तयार नभएका स्थानीय तहलाई त्यस्तो योजना तयार गर्न पनि बैठकले अनुरोध गरेको छ।

बिहीबार सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का हरेक केन्द्रमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालयको समन्वयमा हेल्प डेस्क राख्ने व्यवस्था गरिएको छ।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले महामारी र विपद्को समयमा अत्यावश्यक वस्तु अभाव हुन नदिन बजार अनुगमन नियमित गर्ने निर्णय भएको पनि जानकारी दिए। ‘कोभिड–१९ का बारेमा जनचेतनामूलक सन्देश प्रवाह गर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ,’ उनले भने, ‘यसबारे जनचेतना अभिवृद्धि र प्रतिकार्यका लागि स्थानीय तहलाई पनि अनुरोध गरिने छ।’

समन्वय समिति प्रमुख बरालको अध्यक्षतामा बसेको बैठकमा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसी सेढाईं, सुरक्षा, स्वास्थ्य र जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।