शनिश्चरे । झापाको उत्तरी नगरपालिका अर्जुनधारा वर्षायाममा विपद्को जोखिममा बर्सेनि पर्दै आएको छ । विशेषगरी यसै नगरपालिका भएर बग्ने, विरिङ, टाङटिङलगायतका खोलाले विपद् निम्त्याउने गरेको छ ।

 

वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको वातावरण शाखाले मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्व अभ्यास तालिम सम्पन्न गरेको छ ।

 

सैद्धान्तिक र अभ्यासमुलक तालिम समापनपछि नगर प्रमुख बलदेवसिंह गोम्देनले आफ्ना वरपर र सिंगो नगरमै हुनसक्ने विपद्का जोखिम न्यूनीकरणका लागि तयार रहन सहभागीलाई आग्रह गरेका छन् ।

 

कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका तालिमप्राप्त प्रहरी नेतृत्वले सहजीकरण गरेको तालिमका सहभागीलाई नगरप्रमुख गोम्देनले विपद् प्रतिकार्यका लागि तयार रहन आग्रह गरेका हुन् । तालिममा आफूले पाएको ज्ञान र सीपलाई व्यवहारमा उतार्न उनको सुझाव थियो ।

 

तालिममा विशेष गरेर विपद्को जानकारी जानकारी, प्राथमिक उपचार, बिरामी बोक्ने तरिका, आगोको परिचय र प्रकार, दमकलको प्रयोग, आगो निभाउने तरिका, वाटर रेस्क्यू, बोटबाट गरिने उद्दार र डोरीबाट गरिने उद्दार कार्यलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरिएको थियो ।

 

वर्षायाम सुरु भएसँगै अर्जुनधारा नगरपालिका क्षेत्रमा विशेष गरेर बाढी, आगलागी, डुबान र चट्याङलगायतका विपद् आउने गरेको छ । वातावरण शाखा प्रमुख सपना रिमालका अनुसार सैद्धान्तिक कक्षा नगरको सभाहल र अभ्यास तालिम सालबारी झिलमा गरिएको छ ।

 

तालिममा सामुदायिक वनका रक्षक, वडास्तरीय विपद् प्रतिकार्य कार्य दल, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नगर प्रहरी र सरोकारवालाहरुलगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।