बिर्तामोड । वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न पत्रकारलाई निःशुल्क मास्क र सेनिटाइजर प्रदान गरेको छ ।
वीरता जेसीजले नेपाल पत्रकार महासंघ झापा शाखालाई मास्क र सेनिटाइजर वितरण गरेको हो । वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटालाई दुई सय पचास थान मास्क र २० वटा सेनिटाइजर हस्तान्तरण गरेको हो ।
सूचना सम्प्रेशण गर्न हरेक दिन व्यस्त रहनुपर्ने पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजर वितरण गरेको वीरता जेसीजका अध्यक्ष पोखरेलले बताए ।
त्यस्तै वीरता जेसीजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् प्रहरीलाई मास्क वितरण गरेको छ ।
वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुलाई एक सय थान र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई एक सय थान मास्क वितरण गरेको थियो ।
त्यस्तै वीरता जेसीजले बिर्तामोड ६ स्यालडाँगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै मास्क र साबुन वितरण गरेको छ ।
वीरता जेसीजका अध्यक्ष पोखरेलको अध्यक्षता तथा बिर्तामोड .६ का वडाध्यक्ष सूर्य कन्दड्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यस क्षेत्रका दुई सयभन्दा बढी बासिन्दालाई कोरोना भाइरसको संक्रमणवाट बचाउन मास्क र साबुन वितरण गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, बिर्तामोड ६ का वडा सदस्य एल्विन्द्र खत्री लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास बस्नेतले गरेको सामाजिक संजाल संयोजक संजय राजवंशीले बताए ।