बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क निःशुल्क वितरण गरेको छ ।
झापाको बिर्तामोडस्थित पुरानो भद्रपुररोडमा दुई पाङ्ग्रे, अटो रिक्साका सवारी चालक तथा सर्वसाधारणलाई सचेतनामूलक सन्देशसहित लायन्स क्लबले मास्क वितरण गरेको क्लबका अध्यक्ष शैलेन्द्र कुरुम्बाङले जानकारी दिए ।
चीनबाट विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत जनचेतनाका साथ करिब १ हजार ५ सय वटा मास्क वितरण गरेको क्लबका अध्यक्ष कुरुम्बाङले बताए ।
साथै, लायन्सले कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनका लागि निःशुल्क हात धुने व्यवस्था समेत मिलाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्षकुरुम्बाङ, पूर्व अध्यक्ष कृष्ण पौडेल, वोर्ड डाइरेक्टर रविन्द्र भट्टराई, सचिव राजेश दाहाल, सह–कोषाध्यक्ष चित्रबहादुर पोखरेल, बरिष्ठ सदस्य कुमार राई, सदस्यहरु महेन्द्र घिमिरे, मिलन उप्रेती, नरेश बिष्ट, अन्जनी संग्रौला, कमलमान सिंह चौहान लगायतले संयुक्तरुपमा मास्क वितरण गरेका थिए ।