पर्वत पोर्तेल,
काँकडभिट्टा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नाकाबन्दीका कारण सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशका लागि स्थानीय सरकार र प्रशासनलाई निर्देशन दिएपछि उनीहरु नेपाल प्रवेश गरेका छन् ।

अपरान्ह उनीहरुलाई नेपाल आउने अनुमति दिइएको थियो । नेपालतिर अलपत्र भारतीयहरुलाई पारी पठाइएको छ ।

नाकाबन्दीका कारण बन्द सीमा नाकाको निरीक्षणका लागि सोमबार पूर्वी नाका काँकडभिट्टा आएका उनले सीमामा अलपत्र यात्रीहरुलाई प्रवेशका लागि केन्द्र सरकारसँग समन्वय गरेको जनाए।

उनले नेपालतिर अलपत्र भारतीय र भारततिर अलपत्र नेपाली नागरिकसँग भेटेका थिए। नेपाली नागरिकसँग उनले भने,‘तपाईंहरुको समस्यालाई मध्यनजर गरेर हामी प्रवेश दिदैछौं। तर, तपाईंहरु कम्तिमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला।’

नाकाबन्दीका कारण नेपाल आउने र भारत जाने यात्रीले पूर्वी नाका दिनभर अस्तव्यस्त थियो। नेपाल आउन लागेका यात्रीको शरीरको तापक्रम जाँचेर छाडिने र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने डीएसपी राजेन्द्र पोख्रेलले जनाए।

भारतबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रीले नेपाल प्रवेशको माग गर्दै केही समय अघि मेची पुलमा नाराबाजी समेत गरेका थिए।