झापा । कारोना भाइरसक (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको नेपाल लकडाउनको बेवास्ता गर्नेलाई सुरक्षाकर्मीले लखेटेका छन् ।

अर्जुनधारा नगर क्षेत्रमा लकडाउनलाई बेवास्ता गर्दै काममा निस्कने मजदुरहरुलाई सशस्त्र प्रहरीले घर फर्काएको छ । बिरिङ खोला वारिपारी र मदनपुर क्षेत्रमा लकडाउनलाई अटेर गर्दै काममा आएका खोला मजदुरलाई सशस्त्र प्रहरीले सम्झाइबुझाइ घर पठाएको हो ।

यसैगरी, सशस्त्र प्रहरी बलको शनिश्चरे बेस क्याम्पबाट खटिएको टोलीले अर्जुनधाराका विभिन्न सुपारी प्रशोधन केन्द्रमा पुगेर त्यहाँ काम गरिरहेका मजदुरलाई घर पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।

उनका अनुसार शनिश्चरे, अर्जुनधारा क्षेत्रका पाँच स्थानबाट मजुदरलाई घर पठाइएको हो । यस्तै, सुरक्षाकर्मीले निर्माण कार्यमा खटिएका मजदुरलाई पनि घर पठाएका छन् ।