अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दा कोरोना भाइरस (कोभिड १९) बारे सचेत हुन थालेपछि नगरको स्वास्थ्य शाखामा सम्पर्क गर्न थालेका छन् ।

नगरबासीले आफ्ना छिमेकी विदेशबाट आउन थालेपछि स्वास्थ्यप्रति सचेत हुँदै संक्रमण फैलिन नदिनका लागि नगरको स्वास्थ्य शाखामा सम्पर्क गर्न थालेका हुन् । नगरबासीले देखाएको तत्परताले यसको संक्रमण न्यून हुने अपेक्षा गरिएको छ ।

छिमेकी देश भारत होस् वा अन्य मुलुकबाट आफ्नो घरछेउका छिमेकी फर्किएको थाहा पाउनसाथ स्वास्थ्य शाखामा सम्पर्क गर्न थालेको स्वास्थ्य शाखा प्रमुख मकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार सरकारले नाकाबन्दीसँगै लकडाउन गरेयता दर्जन स्थानबाट छिमेकी विदेशबाट आएको जानकारी गराएका छन् ।

बुधबारमात्र अर्जुनधारा नगरपालिकाको पाँच वटा वडाका विभिन्न स्थानमा स्वास्थ्य टोली पुगेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । नगरपालिकाको २, ३, ५, ६ र १० नम्बर वडामा पुगेर विदेशबाट आएका व्यक्तिलाई प्रत्यक्ष भेटी स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्य सल्लाह दिइएको प्रमुख बस्नेतले बताए ।

उनका अनुसार फ्रान्स, कतार, कोरिया, दुवई र भारतबाट आएका सात जना अर्जुनधाराबासीलाई टोलीले भेटेको थियो । उनीहरुलाई घरभित्रै बस्न, १४ दिनसम्म अन्य स्थानमा हिँडडुल नगर्न, परिवारसँग पनि टाढैबाट व्यवहार गर्न सुझाइएको थियो ।

वडा नम्बर २ र ३ मा वडाध्यक्ष जीवन भण्डारी, सदस्य होम दुलाल, १० मा वडाध्यक्ष बलदेव गोम्देन, सदस्य भोला गौतमसहितको टोलीले अनुगमन गरेका थिए । स्वास्थ्य शाखा प्रमुख बस्नेतको नेतृत्वमा डा. मुना नेपाल, सञ्चारकर्मी, सुरक्षाकर्मीको टोलीले निरीक्षण तथा अनुगमन गरेको थियो ।

नगरपालिकाले ४ नम्बर वडामा स्थापना गरेको क्वारेन्टाइनमा मंगलबार बेलुकामात्र एक महिलासहित ५ जनालाई राखेको छ ।