राजु पौडेल,
झापा । झापाको शिवसताक्षी–५ का शिव मण्डल हिजोआज बेचैन छन् । कोरोना भाइरस फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि उनको काँक्रा र खरबुजा बारीमै छ ।
लकडाउन भएयता उनले न काँक्रा टिप्न पाए न टिपेको बेच्न नै । जसका कारण काँक्रा बारीमै कुहिएको छ । खरबुजा पनि केही दिनमा नटिपे बिग्रने अवस्थामा पुग्नेछ । ‘काँक्रा टिप्न बारी आउँदा पुलिसले लखेट्यो’ उनले भने, ‘न बजार खुल्छ, न त व्यापारी नै आउछन् ।’
शिवसताक्षी–६ का अर्का कृषक नरप्रसाद राजवंशीको व्यथा पनि उस्तै छ । अढाई बिघामा लगाएको काँक्रा र खरबुजा टिप्नु नपर्ने भएको छ । ‘विगतमा सिजनमा खर्च कटाएर कम्तिमा ५ लाख कमाउथ्येँ’ उनले भने, ‘यसपालि त लगानी समेत नउठ्ने भयो ।’
शिवसताक्षी नगरपालिका ५ र ६ नम्बर वडाका दर्जनौँ कृषकले कन्काई नदीको किनारमा काँक्रा र खरबुजा खेती गर्दै आएका छन् । नदीआसपासको जमिन भएकाले त्यहाँका किसानले स्थानीय त्रिभुवन माविलाई ठेक्काबापत रकम बुझाउछन् ।
प्रतिबिगाह १० हजारका दरले जमिनको ठेक्का तिर्दै खेती गर्दै आएका छन् । करिब २ सय बिगा जमिनमा कृषकले लगाएर काँक्रा र खरबुजा लकडाउनका कारण बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित छन् ।
काँक्रा फल्ने मुख्य सिजन सुरु भएदेखि नै लकडाउन सुरु भएपछि बजार बन्द भए । जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार बिर्तामोड र दमक हो । लकडाउनमा त्यहाँका कृषिथोक उपज पूर्ण बन्द छ । विगतमा बारीमै काँक्रा र खरबुजा खरिद गर्न व्यापारी पुग्थ्ये ।
लकडाउनका कारण उनीहरुले पनि जोखिम मोल्न चाहेनन् । स्थानीय हाटहरुसमेत पूर्णरुपमा बन्द भएपछि कृषकका उत्पादन बारीमै थन्किएको हो । ‘हामीले हाम्रो उत्पादन मुख्य राजमार्ग आसपासका बजारमा लैजान लकडाउन सुरु भएदेखि माग गरेका थियौँ’ कृषक सुर्यप्रसाद राजवंशीले भने, ‘सुरुमा प्रहरी र जनप्रतिनिधीले चासै दिएनन्, अब अहिले सबै बन्द छ कहाँ लगेर बेच्नु रु’
स्थानीय जनप्रतिनिधि पनि ठुलो परिमाणमा उत्पादन गर्ने कृषकलाई समस्या भएको बताउछन् । लकडाउन सुरुवातका दिनहरुमा कृषकका उत्पादन अन्यत्र लैजान समस्या भए पनि अहिले त्यो अवस्था नरहेको शिवसताक्षी–६ का वडाध्यक्ष मनोज काकीले बताए ।
‘स्थानीय बजारमा पु¥याउन हामीले सहयोग गरिरहेका छौँ’ उनले भने, ‘तर ठुलो परिमाणमा उत्पादन गरेका किसानलाई भने वास्तवमै समस्या भएको छ, हामी यो विषयमा छलफल गरिरहेका छौँ ।’
तस्वीर: शिशिर चम्लागाइँ