इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही वर्षमा देशमा विकासको कायापलट हुने बताएका छन् । देशभर विकास निर्माणको प्रक्रियामा तीब्र गतिले अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले मन नपराउनेहरुले भनेको सरकार र आफूहरूले सञ्चालन गरिरहेको सरकार फरक रहेको स्पष्ट पारे ।
इलाममा आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशैभर सडक, पूर्वाधार, जलविद्युतलगायतका निर्माणका कामहरू तीब्र गतिले शुरू भएकोले दाता र लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी बढाउन आग्रह गरे ।
कृषि, औद्योगिकरण, यातायात जस्ता क्षेत्रमा लगानी बढाउँदै ती क्षेत्रको आधुनिकिकरणमा सरकार लागिरहेकाले हेर्दा हेर्दै देशमा विकासको कायापलट हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
आफ्नो मन्तव्यमा धेरै समय प्रदेश १ र विषेशगरि इलामका विषयलाई समेटेका ओलीले ठट्यौली पारामा यो समयमा आइपुग्दा ‘गयो इलाम, खायो सिलाम, गुन्टा लिलाम’ भन्ने पुरानो उखान बदलिएकाले अब इलाममा लगानी बढाएर आर्थिक उपार्जन गर्न डराउनु नपर्ने धारणा राखेका थिए ।
चिया, अदुवा, अलैंची, अम्लिसोलगायतका इलामका कृषि उत्पादनको निर्यातका लागि आफूले पनि धेरै पटक भारतीय प्रधानमन्त्री सँग छलफल र कुरा गरेको स्मरण गर्दै ओलीले प्रदेश १ का सम्पूर्ण नागरिकलाई कृषि उत्पादनमा बढीभन्दा बढी काम गर्न र उत्पादन गर्न आग्रह गरे । ‘विशेषगरि पहाडी जिल्ला इलाममा धेरै प्राकृतिक चीजहरू छन्,’ ओलीले भने ‘ती चीजहरूलाई सिंगार्न बाँकी छ, पर्यटकको सुरक्षा र सत्कारमा कमि नगर्नुस् इलाम आफैं समृद्ध बन्न तयार छ ।’

केचनाको गहिराइ देखि सगरमाथाको उच्चाइ सम्म पर्ने प्रदेश १ को भू–भागमा कृषि, पर्यटन, औद्योगिकरण, शिक्षा, स्वास्थ्य जुनसुकै क्षेत्रमा पनि सम्भावना प्रचुर रहेको भन्दै ओलीले सबै प्रदेशहरूले इश्र्या होइन प्रतिस्पर्धा गरेर काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए । प्रधानमन्त्री ओलीले अहिले सरकारले ३० जिल्लामा राष्ट्रपति महिला उद्यमी, अन्य स्थानमा प्रधानमन्त्री आधुनिकिकरण परियोजना, युवा उद्यम जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । सरकारले पनि आर्थिक समृद्धि र रोजगारीका लागि काम गरिरहेको छ, उनले भने ‘यसमा नीजि क्षेत्रको सहयोग भयो भने अझ चाँडो काम गर्न सकिन्छ ।
नेपाली चियाको इतिहास बोकेको इलामका लागि सुकिलुम्बा विमानस्थलको स्त्तरोन्नति गर्न, सदरमुकामस्थित ठूलो टुँडीखेलका विषयमा विकल्प खोज्ने विषयमा आफू गभ्मीर रहेको भन्दै प्रधानमन्त्री ओलीले इलामले मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा चिसापानी–दानाबारी सडकको निर्माणको काम पनि उचित रहेको बताए । आफू देशको विकास, जनताको सेवामा लागेको भन्दै उहाँले जनताको मायामात्र चाहेको ओलीको भनाइ थियो ।
इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीलाई नगरपालिका र जिल्लाबासीको तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले इलाम नगरपालिकाले आयोजना गरेको यो लगानी सम्मेलन सँगै पूर्वबाट आर्थिक क्रान्ति शुरू भएको बबताए । इलामले समृद्धिको विगुल फुकेको भन्दै ढकालले अब उत्तरको ओलाङचुङ गोला नाका खुल्ला भएपछि पूर्वमा उज्यालो थपिन्छ । ढकालले पहिचान गरिएका लगानीका थुप्रै सम्भावना भेटिए पनि खाली जग्गाको अभाव रहेको बताए ।

विभिन्न विधाकाको पुरस्कार वितरण

कार्यक्रमा इलाम नगरपालिकाले वातावरणका क्षेत्रमा नगरका १२ वटै वडाको मूल्याकंन गरि उत्कृष्ठ वडा नम्बर पाँचलाई एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै खेलकुद पुरस्कार मंगेश बस्नेत, संगीत कला, साहित्य पुरस्कार रोशन कर्मचार्य, सामाजिक सेवा पुरस्कार मनबहादुर गुरूङ, सञ्चार पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, व्यावसायिक पर्यटन हरि गुरूङ र व्यवसायिक कृषि पुरस्कार महानन्द ओझालाई प्रदान गरिएको थियो ।