अर्जुनधारा, झापा । आन्दोलनरत् समूहसँग अर्जुनधारा नगरपालिकाले सात बुँदे सहमति गरेपछि १ नम्बर वडा कार्यालयमा लगाइएको ताला मंगलबारदेखि खुलेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नम्बर वडा कमिटीले विरिङ नदीमा मेसिनको प्रयोग नगराउनु भन्दै विभिन्न माग राखी माघ १० गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो । मंगलबार नगर सभाकक्षमा भएको सर्वपक्षीय भेलाबाट सहमति जुटेपछि ताला खुलाइएको हो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न छलफलमा प्रदेश सांसदद्वय बृख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेल, बृद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल लगायतको सम्मिलित टोली र विरीङ्ग नदी सरोकारवालाहरुसँग भएको सर्वपक्षीय, सर्वदलीय वार्तामा विरीङ्ग नदी प्रणालीको नदीजन्य सामाग्री उत्खननको विषय सहित ७ बुँदे सहमति भएपछि तालाबन्दी खोल्न सहमत भएका हुन् ।

सहमति पत्रमा विरिङ्ग खोलाले वर्षेनी गर्दै आएको कटान तथा खोला गहिरिने काम रोकथाम गर्न आवश्यक चेक ड्याम र स्पर बनाउने उल्लेख छ । त्यसका लागि अर्जुनधारा नगरपालिकाले बुद्धशान्ति गाउँपालिकासँग समेत समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

जिल्ला समन्वय समिति, प्रदेश सांसदसँग आवश्यक समन्वय, सहजीकरण गर्दे तत्काल डीपीआर कार्य प्रारम्भ गरिने निर्णय भएको प्रमुख रानाले जानकारी दिए । विरिङ्ग, टाङटिङ लगायतका खोलाहरुमा कार्यरत मजदुरहरुको दश दिन भित्रमा लगत संकलन गरी सूचिकृत गर्ने, खोलाहरुमा खोलाजन्य पदार्थहरु ओसारपोसार गर्ने ट्याक्टरहरुलाई करको दायरामा ल्याउन सूचीकृत गर्ने विषय पनि समेटिएको छ ।

त्यस्तै सम्बन्धित सबै पक्षहरुले स्थानीय रुपमा शान्ति सुव्यवस्था, अमनचयन तथा सेवा प्रवाहलाई प्रतिकुल हुने कुनै पनि क्रियकलाप नगर्ने नगराउने कुरा ७ बुँदे सहमतिमा उल्लेख गरिएको छ ।

नगरको सभाकक्षमा भएको सो सहमतिमा मजदुर प्रतिनिधि, खोला ठेकदार प्रतिनिधि, नगर स्तरीय अनुगमन समिति तथा स्थानीय प्रतिनिधिहरु बसेर मजदुरले उत्खनन् गर्ने क्षेत्र र खोला ठेकदारले खन्ने क्षेत्र निर्धारण गर्ने उल्लेख छ । त्यसका लागि कार्यरत मजदुरहरुको सूचिकृत भएको मितिले ५ दिनभित्र सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

सहमतिको अन्तिम बुँदामा ठेकदारले उत्खनन् गर्ने क्षेत्रमा उत्खनन् गर्न बाधा अवरोध भएमा नियमानुसार आवश्यक कारबाही अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।

न्युनतम माग तत्कालका लागि सम्बोधन भएकाले जनताका समस्यालाई ध्यानमा राखेर तालबन्दी खोल्ने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी वडा–१ अध्यक्ष भक्तिप्रसाद कोइरालले बताए ।

प्रमुख रानाको अध्यक्षतामा सम्पन्न छलफलमा अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खडका, बृद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडा, नेकपाका प्रतिनिधि दिपेन्द्र लम्साल, मित्र खतिवडा, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, अर्जुनधारा वडा–६ अध्यक्ष लोकनाथ गौतम लगायतले विरिङ्ग नदी प्रणालीको अल्पकालिन र दीर्घकालिन समाधानका विषयमा धारणा राखेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष दिलिप राई, संघीय समाजवादीका नगर अध्यक्ष सिर्जलाल चौधरी, वडा–३ अध्यक्ष जीवन कुमार भण्डारी, वडा–७ का अध्यक्ष नवराम ढुङ्गाना लगायतले छलफलमा सहभागिता जनाएका थिए ।

अर्जुनधारा–१ निवासी विष्णुलाल ढकाल, चन्द्र खत्री, अम्बर बस्नेत, राम निरौला, तारा श्रेष्ठ, तेजु भट्टराई, विजेन्द्र एक्तेन, विरीङ्ग नदी प्रणालीका अध्यक्ष नयन अधिकारी, विरीङ्ग जलाधार अध्यक्ष मानबहादुर कार्की, ट्याक्टर व्यवसायी नवराज दाहाल, ठेकदार प्रतिनिधि नारायण दंगाल, गंगा गौतम, उत्सव ढकाल, सुरेन्द्र धिमाल लगायतले खोलाबाट उत्पनन भएका आ–आफ्नो समस्याको विषयमा धारणा राखेका थिए ।