अर्जुनधारा, झापा । अर्जुनधारा ४ मा रहेको सिंहबाहिनी भद्रकाली शक्तिपीठ मन्दिरको १३औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

मन्दिर परिसरमा आयोजित सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजेन्द्र अधिकारीले २०५२ सालमा देउसीभैलोबाट सुरु भएको मन्दिर अहिले आठ कठ्ठा पाँच धुर जग्गामा भवनसमेत निर्माण गरी विस्तार गरिएको बताए ।

अझै पाँच कठ्ठा जग्गा जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले निर्माणाधीन अवस्थामा रहेको शेषनारायण मन्दिरको कार्य पूरा गर्नु र कम्पाउण्ड वाल निर्माण गर्नुपर्ने दायित्व रहेको पनि उल्लेख गरे । व्यवस्थित शौचालय बनाउनु पनि मन्दिर व्यवस्थापनको जिम्मेवारी भएको उनको भनाइ थियो ।

समितिकी कोषाध्यक्ष कोशी राईले गत आर्थिक वर्ष २०७४/७५ को आयव्यय सार्वजनिक गरेको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष दुर्ग दाहाल थिए । समितिका उपाध्यक्ष अमृत बुढाथोकीले स्वागत गरेको कार्यक्रममा मन्दिरका परिकल्पनाकार भारत जय गाउँ निवासी बीबी कार्की, ठाकुरप्रसाद खतिवडा, लोकबहादुर बुढाथोकी, खगेन्द्र योङहाङ, अमर कटुवाल, सुकदेव खनाललगायतले बोलेका थिए ।

सोही साधारणसभाले पुनः राजेन्द्र अधिकारीकै अध्यक्षतामा नयाँ मन्दिर व्यवस्थापन समिति निर्माण गरेको छ । अधिकारी सातौँ कार्यकालका लागि चयन भएका हुन् । समितिको उपाध्यक्षमा अमृत बुढाथोकी, सचिवमा जमुना थपलिया, सहसचिवमा खगेन्द्र कार्की र कोषाध्यक्षमा पुनः कोशी राईलाई चुनेको छ ।

त्यस्तै, आशा राई, रञ्जित डाँगी, रामबहादुर कार्की, शिव श्रेष्ठ, हस्तबहादुर शिवा, नेत्रबहादुर बुढाथोकी, लीला कटुवाल र गजाधर पराजुलीलाई सदस्यमा चयन गरेको छ । कार्यक्रमको सञ्चालन समितिकी सचिव जमुना थपलियाले गरेकी थिइन् ।