इलाम । इलाम सदरमुकामको इलाम नगरपालिका ९ मा पर्ने सुकिलुम्बामा निर्माण भइरहेको बिमानस्थललाई कालोपत्रे गर्न प्रकृया शुरु भएको छ ।

अहिले बिमानस्थल पुग्ने बाटो ग्राबेल हुँदै गरेको र अब बिमानस्थल कालोपत्रे हुने भएपछि छिट्टै सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ । विमानस्थल निर्माण आयोजना प्रमुख पुष्प न्यौपानेले यो वर्ष विमानस्थल कालोपत्रे गर्नका लागि बहुवर्षे ठेक्का खोलिने जानकारी दिएका छन् ।

यस निर्माणाधीन बिमानस्थलमा गएको साउनमा तारा एयरको बिमान परीक्षण उडान सफल भएसँगै विमानस्थलको निर्माण सुस्ताएको थियो । परीक्षण उडानपछि पनि निर्माण कार्य तीब्र गतिमा अगाडि नबढाइँदा जनगुनासो समेत शुरु भइसकेको थियो । बिमानस्थल निर्माण कार्य नभएको र यसका लागि रकम अभाव भएको भनिएपछि उक्त विषयमा समाचार प्रकाशन भएको थियो ।

आयोजना प्रमुख न्यौपानेले जनअपेक्षा अनुसार नै धावनमार्ग कालोपत्रेका लागि इष्टिमेट डिजाइन तयार भएको बताएका छन् । विमानस्थल धावन मार्गका लागि चालु वर्षमा चार करोड बजेट छुट्टिएको र करिब १५ करोड बढी खर्च हुने अनुमान रहेको छ । सात सय मिटर लम्बाई र २० मीटर चौडाइको कालोपत्रे धावन मार्ग बनाउन लागिएको उनले जानकारी दिए ।

यस वाहेक जहाज पार्किङका लागि ७० मिटर लम्बाई र ३० मिटर चौडाइको पार्कीङस्थल समेत कालोपत्रे बनाउने आयोजनाको योजना छ । धावनमार्ग सकिएपछि पुन टर्मिनलका लागि थप ६ करोड आवश्यक पर्ने नेउपानेले बताए । ग्राभेलमात्र गर्दा अर्को वर्ष पनि पानीले बगाएर उस्तै बनाउने र बजेट खेर जाने हो की भनेर वहुवर्षे ठेक्का लगाएर भएपनि कालोपत्रे सम्पन्न गर्ने योजना बनाएको उनले सुनाए ।

परीक्षणपछि अपेक्षा अनुसार बजेट विनियोजन नहुँदा स्थानीय निरास भएका थिए ।  नियमित उडानका लागि थप पुर्वाधार आवश्यक भएकाले केहि वर्ष अझै निर्माणमा समय लाग्ने बताइएको छ । सुकिलुम्बाको एउटा बस्ती नै उठाएर तीन सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको हो । २०५८ सालमा नै प्रकृया थालिए पनि बिमानस्थलको निर्माण सुस्त गतिले अगाडि बढेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

सदरमुकाम इलाम बजारबाट ७ किलोमिटर दक्षिणको सुकिलुम्बामा बिमानस्थल निर्माण भइरहँदा समेत सबै जिल्लामा विमानस्थल कतिको उपयुक्त हुने भनि टिप्पणी हुने गरेको थियो । प्रधानमन्त्री केपी ओली स्वयम्ले गत महिनामा लगानी सम्मेलनका क्रममा इलाममा बिमानस्थलको कुरा उपयुक्त अनुपयुक्त हेर्नुपर्ने बताएका थिए । २०६७ चैत १३ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरे पनि निर्माण सुरु हुन केहि वर्ष ढिलाई भएको थियो ।

धावनमार्गलाई कालोपत्रे गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार बनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने इञ्जिनियर पुष्प न्यौपानेले बताए । पूर्ण रुपमा सबै पूर्वाधार निर्माण गरेर उडान भर्न अझै ४५ करोड आवश्यक पर्ने उनको भनाई छ ।

यो बिमानस्थल पश्चिमवाट पूर्वतर्फ ढल्किएको छ । बिमान पार्किङ गर्ने पश्चिमी भाग भन्दा पूर्वतर्फ ४५ मिटर डाउन छ । जसकाकारण पनि यो बिमानस्थललाई कालोपत्रे अनिवार्य रहेको प्राविधिकको भनाई छ ।

७ सय मिटर लम्बाइ र ६० मीटर चौडाइ रहेको बिमानस्थलमा साना जाहाज उड्न सक्छन् । यस क्षेत्रको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने ठानिएको बिमानस्थलको काम छिटो सम्पन्न गरेर उडान सञ्चालन गर्न स्थानीयले माग गर्दै आएका छन् ।

बिमानस्थलवाट निस्कने भलले त्यहाँभन्दा तलका बस्तीमा प्रत्यक्ष असर पार्न थालेपछि गत वर्ष मात्र नागरिक उड्डयन प्राधिकरणले माईखोला सम्म नै ढल ब्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा काम सम्पन्न गरेको छ । यस्तै धावनमार्ग र पार्किङस्थल खारेर फराकिलो गर्ने कार्य पनि सम्पन्न भएको थियो ।

बिमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कम क्षेत्रका जनतालाई सजह हुने ठानिएको छ ।