इलाम । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ।

सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा)को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो।  कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो।

विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्रयापिङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताए।  लजालु प्रकृतिको दुर्लभ रेडपान्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक फिञ्जु शेर्पाले बताए।

रेडपान्डाको संरक्षणका लागि रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङमा सन् २०११ देखि काम गरिरहेको भए पनि जङ्गली जनावरबाट जोगाउने कार्यक्रम भने हालसम्म सार्वजनिक भएको थिएन।  गाउँपालिकाले केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। टप्पु क्षेत्रमा रहेको करिब दुई हेक्टर जमिनमा केन्द्र स्थापना गरिएको हो।

प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूखबिरुवा रहेकाले उक्त प्रजातिका रूखबिरुवा वनको नियमअनुसार हटाएर रेडपान्डाको आहाराको रूपमा रहेको ट्यागा, मालिङ्गो र भालुचिण्डे लगाउँदै त्यसलाई विस्तार गर्ने प्रवक्ता खनालले जानकारी दिए।