रमेश समदर्शी
भद्रपुर, झापा । भद्रपुर नगरपालिकाको एउटा वडामा बहुला कुकुरको आतंक मच्चिएको छ । एक साताभित्र बहुला कुकुरले टोकेर वडा नम्बर ३ को धिमालधुरामा एक दर्जनभन्दा बढी पशुको मृत्यु भएको छ ।

उक्त गाउँमा सबैभन्दा बढी बाख्रा र गाई रेविजबाट मरेको स्थानीय युवा समशेर तामाङले बताए । रेविजकै कारण गाउँमा पशु चौपाया मर्न थालेपछि स्थानीयमा त्रास पैदा भएको छ । तामाङका अनुसार आइतबारमात्र दुई वटा गाई र राँगा मरेका थिए ।

स्थानीय धनी मर्डीले गर्भवती गाई मरेपछि आर्थिक क्षति व्यहोरेको बताइन् । ‘कुकरले राति गाईको मुखमै टोकेको थियो, नराम्ररी कराएर मर्यो’, उनले भनिन्, ‘५०÷६० हजार पर्ने गाई मर्यो हजुर !’

कुकुरकै कारण गाईभैँसी मर्न थालेपछि स्थानीयले बाँकी रहेका थप चौपाया पनि आधा दाममै बिक्री गर्न थालेका छन् । मर्डीले पनि एक हल गोरु सस्तोमै बेचेको सुनाइन् । ६० हजार पर्ने हल गोरु ३८ हजारमै बेचेको उनको भनाइ छ ।

अन्य पीडितले पनि थप आर्थिक क्षति व्यहोर्न नपरोस् भनेर आधा दाममै चौपाय बेच्दै आएको तामाङले बताए । पशु टोक्ने कुकुरको यकिन नभए पनि रेविज लागेको आशंकामा एउटा कुकुरलाई गाउँँलेले तीन दिनअघि मारेको उनको भनाइ छ ।

रेविज लागिसकेको पशु भटाभट मर्न थालेपछि जीवित रहेका पशु पनि कहिले मर्ने हुन् भनेर स्थानीय चिन्तित छन् । ‘पछिसम्म पनि रेविजले पशु मर्छन् रे, के गर्ने हो ?’, स्थानीय अमरबहादुर राईले भने । बाँकी रहेका पशुलाई मर्नबाट बचाउन र रोग नियन्त्रणका लागि पहल गरिदिन राईले आग्रह गरेका छन् ।

घरको पशु रेविजले मरेपछि लालनपालन गरेका कृषकले रेविज सर्ने डरले मेची अञ्चल अस्पताल गएर रेविजविरुद्धको भ्याक्सिन लगाउन थालेको पनि तामाङले जानकारी दिए । रेविज रोग र त्यसको असरबारे स्थानीयमा जानकारी नहुँदा मानवीय क्षति हुने सम्भावना पनि बढेको छ ।

रेविज लागेका कतिपय पशु पीडा खप्न नसकेपछि भागेर अरुकै जग्गामा गएर मर्ने गरेको छ । त्यसरी मरेका पशु बाहिरै लडेपछि रेविज सर्ने डरले स्थानीय थप चिन्तित छन् भने समस्या पनि उत्पन्न भएको छ । ‘धानबारीमा पुगेर मरेको गाईलाई पुर्न पैसा दिन्छुभन्दा पनि रोग सर्ने डरले कोही मानेका छैनन्’, राईले घटनास्थलमा पुगेका पत्रकारलाई भने ।

रेविजले पशुको मृत्यु भएर नगरबासीले आर्थिक क्षति व्यहोर्न थालेपछि नगरपालिकाले विशेष चासोका साथ नियन्त्रणको कार्यमा लागेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार नै पशु प्राविधिक र वडा अध्यक्षलाई घटनास्थलमा पुगेर क्षति नियन्त्रणका लागि पहल गर्न भनिएको थियो । वडा अध्यक्ष कमला थुलुङले पशु प्राविधिकसहितको टोली तथ्यांक संकलन गरी रेविजविरुद्धको भ्याक्सिन सुरु गरिसकिएको जानकारी दिए ।

नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक गणेश भट्टराईका अनुसार घटनाको जानकारी पाउनासाथ टोलीले रोग नियन्त्रणको प्रयास थालेको छ । आइतबारमात्रै शंका लागेका १४ वटा पशुलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको थियो ।