झापा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुनेछन्।

 

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

 

परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ र देशबाहिर जापानमा एक गरी कूल एक हजार ५२६ परीक्षा केन्द्र निर्धारण गरेको अध्यक्ष शर्माले बताए। सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ-मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।

 

पहिलो पटक बोर्डले यसवर्ष स्वचालित स्यान्डम प्रक्रियाबाट काठमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्।