अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–४स्थित दुर्गाशक्ति समाज कल्याण संघ ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा दुईवटा भवन निर्माणको कार्य भइरहेको छ ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर कटुवालका अनुसार परिसरमा आधुनिक सभाहलसहितको स्तरिय भवन निर्माण गर्ने उद्धेश्यले सामुदायिक भवन र ज्येष्ठ नागरिकहरुको लागि ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण भइरहेको हो ।

गत वर्ष सम्पन्न भएको पहिलो धार्मिक अनुष्ठानबाट बचत भएको तीन लाख ५० हजार रुपैयाँबाट निर्माण शुरु भएको सामुदायिक भवनमा अर्जुनधारा नगरपालिकाको १० लाख, वडाको दुई लाख र स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको एक लाख गरि हालसम्म १६ लाख ५० हजार रुपैयाँ खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिए ।

लम्बाई ७७ फुट, चौडाई ४० फुट र उचाई अनुमानित १३ फुट रहेको उक्त भवनको ६० प्रतिशत कार्य सम्पन्न भएको छ । नगरपालिकाको स्टीमेट अनुसार जम्मा लागत २० लाख ७५ हजार रुपैयाँ उल्लेख गरिएकोमा सबै कार्य सम्पन्न हुँदा अनुमानित २८ लाख रुपैयाँ लाग्ने अध्यक्ष कटुवालले बताए ।

गत वैशाख २३ गते वडाध्यक्ष दुर्गाप्रसाद दाहालले शिलान्यास गरेको उक्त भवनको बाँकी काम सम्पन्न गर्न आवश्यक स्रोत जुटाउन पहल भइरहेको केन्द्रका सल्लाहकार एवम् सामाजिक अभियन्ता केदारनाथ पराजुलीले बताए । “स्रोत जुट्ने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्म काम सम्पन्न हुनेछ”–उनले भने ।

त्यसैगरी संघीय सांसद पवित्रा निरौला खरेलको सांसद् विकास कोषको १० लाख रुपैयाँबाट ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

लीलाबहादुर कटुवालको अध्यक्षतामा गठित उपभोक्ता समितिले गत मंसिर ९ गते सम्झौता गरी सुरु भएको उक्त भवन निर्माणको कार्य आगामी चैत ३० गते सम्पन्न हुनुपर्ने सूचना पार्टीमा उल्लेख गरिएको छ ।

जनसहभागिताबाट दुई लाख तीन सय ३२ रुपैयाँसहित जम्मा लागत १२ लाख तीन सय ३२ रुपैयाँ रहेको उक्त आयोजनाबाट तीन हजार जना जनसंख्या लाभान्वित हुने बताइएको छ । ८५ फुट लम्बाई रहेको उक्त भवनमा १२ह१७को दुई वटा कोठा, भान्सा कोठा, स्टोरलगायत रहेका छन् ।

यसैबिच सोही केन्द्रले आगामी फाल्गुन २० देखि २८ गतेसम्म दोस्रो धार्मिक अनुष्ठानकोरुपमा श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।

महापुराणको सारतत्व बारे सबैलाई बुझाउने उद्धेश्यले आयोजना गरिएको उक्त महायज्ञको विषयमा शुक्रबार समितिका अध्यक्ष कटुवालको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

महायज्ञ सम्पन्न गर्न केन्द्रका सल्लाहकार पराजुलीको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ । त्यसैगरी लीलाबहादुर कटुवालको संयोजकत्वमा आर्थिक उपसमिति, कुसुमलाल दनुवारको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन उपसमिति, दुर्गाप्रसाद भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, भोला परियारको संयोजकत्वमा सुरक्षा उपसमिति, ठाकुरप्रसाद खतिवडाको संयोजकत्वमा पुजा उपसमिति, टेकनाथ डाँगीको संयोजकत्वमा आन्तरिक व्यवस्थापन उपसमिति र उर्मीला दनुवार तथा मीना दनुवारको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको बताइएको छ ।

डा.यतिराजाचार्य प्रमुख वाचक रहेको महायज्ञमा पण्डित नारद घिमिरेले पाठपारायण गर्ने बताइएको छ । कार्यक्रममा नगर सभा सदस्य खड्ग चौहन, सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रराज अधिकारी, उपाध्यक्ष अमृत बुढाथोकी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव युवराज खड्कालगायतको आतिथ्यता रहेको थियो ।
महायज्ञ मूल आयोजक समारोह समितिका सहसंयोजक गोपाल बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसी श्रेष्ठले गरेका थिए ।