बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघको छैठौ साधारणसभा तथा तेस्रो महाधिवेशन धनकुटाको हिलेमा हुने भएको छ ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा चैत ९ र १० गते महाधिवेशन सम्पन्न हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार महाधिवेशनमा केन्द्र र जिल्लाका २ सयभन्दा बढी व्यवसायीको सहभागिता रहनेछ ।

महाधिवेशनमा वर्षभरि उत्कृष्ट कार्य गर्ने जिल्ला शाखा, उत्कृष्ट एक जना कृषक, र उत्कृष्ट एक जना व्यवसायीलाई सम्मानसँगै पुरस्कृत गरिने पनि अध्यक्ष भट्टराईले बताए । अलैँचीको खेत विस्तारका लागि आवश्यक बिरुवा, प्राविधिक सहयोग आदिका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै विश्व बजारमा नेपाली अलैँचीको सहज पहुँचलाई व्यवस्थित गराउनेलगायतका विषयमा महाधिवशेनमा छलफल हुने बताइएको छ ।

महासंघको केन्द्र तथा शाखामा एक हजार पाँच सय जना सदस्य आवद्ध छन् । २०६४ सालमा स्थापित महासंघको १ नम्बर प्रदेशमा सात गरी १५ वटा शाखा रहेका छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दो भए पनि केही वर्षयता मूल्यमा आएको गिरावटले व्यवसायी तथा कृषक मर्माहत बनेको अध्यक्ष भट्टराईको भनाइ छ । ‘नेपाली अलैँचीले भारतकै बजार भर पर्नु परेकाले पनि मूल्य पाउन नसकेको हो’, उनले भने । त्यस्तै, भारत र भुटानमा पनि पछिल्लो समय अलैँची उत्पादन हुन थालेकाले पनि नेपाली अलैँचीले मूल्य पाउन नसकेको बताइएको छ ।

नेपाली अलैँचीको अन्तर्राष्ट्रिय ट्रेडमार्क प्रक्रियालाई अघि बढाएको खण्डमा विश्वका अन्य बजारमा पु¥याउन भूमिका खेल्नसके नेपाली अलैँचीले उचित मूल्य पाउने हुँदा किसान र व्यवसायी लाभान्वित हुने उनीहरुको बुझाइ छ ।