झापा । झापाको बिर्तामोडमै ‘चिकेन स्टेशन’ खुलेपछि केएफसी खानका लागि सिलिगुढी धाउनुपर्ने बाध्यता हटेको छ ।

सिलिगुढी धाउने होइन, अडर गरेर घरमै बसेर ‘सीएफसी’ आनन्द लिन पाइने भएको हो । झापाका पाँच ऊर्जाशील युवाले पूर्वभरि नै चिकेन स्टेशन खोल्ने लक्ष्यका साथ शनिबारदेखि बिर्तामोडमा सञ्चालनमा ल्याएका हुन् ।

युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङको संयुक्त लगानीमा बिर्तामोडको बीएण्डसी हस्पिटल गेट नजिकै रू ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका छन् ।

मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले झापाको बिर्तामोडमा शाखा विस्तार गरेको सञ्चालक मदन राईले बताउनुभयो । ‘बैशाख भित्रमा दमक र बेलबारीमा पनि सञ्चालन आउने छ’, उहाँले भन्नुभयो, ‘तीन वटै स्थानमा स्टेशन सञ्चालन गर्न १ करोड २० लाख खर्च लाग्ने छ ।’

‘केएफसी खानकै लागि झापाबाट धेरै मानिस भारतको सिलिगुढी जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘चिकेन स्टेशन खुलेसँगै अब सिलिगुढी धाउनु पर्दैन ।’ सस्तो र सर्वसुलभ मूल्यमा केएफसीभन्दा ४० प्रतिशत सस्तोमा आफूहरुले ‘सीएफसी’ ग्राहकलाई उपलब्ध गराइने सञ्चालक राईले बताउनुभयो ।

चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने अर्का सञ्चालक नगेन बुढाथोकीले बताउनुभयो । हाल यहाँ नौ जनाले रोजगारी समेत पाएका छन् भने तीन वटै स्थानमा सञ्चालनमा आएपछि करिब ४० जनाले रोजगारी पाउने सञ्चालक बिन्दु गुरुङले बताउनुभयो ।

कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलो पटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकहरु बताउँछन् । स्टेशन परिसरमा धुम्रपान र मध्यपान प्रतिबन्ध गरिएकाले पारिवारिक वातावरणमा जोकोहीले चिकिनेको मजा लिन सक्नेछन् ।

उद्घाटनको अवसरमा १०% छुटको व्यवस्था त गरिएको छ नै नजिकिँदै गएको होलीमा समेत स्पेशल अफर ल्याइने सञ्चालक राईले बताउनुभयो ।