झापा । मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका युवा पछिल्लो समय आधुनिक प्रविधी अपनाएर व्यवसायीक गाईपालनतर्फ आर्कषित भईरहेका छन् ।

सो क्षेत्रमा हाल सम्म आधुनिक प्रविधीको प्रयोग गरी आधा दर्शन भन्दा बढी गाई फार्म खुलिसकेका छन् । मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय केशव सुवेदीले गाईपालनबाटै मासिक २ लाख रुपैयाँ खुद आम्दानी पनि गरिरहेकै छन् ।

बिर्तामोडस्थित बायो ग्याँस कम्पनीमा प्रबन्धकको छँदाछँदैको जागिर छाडेर उनले पाँच वर्ष अघिदेखी गाई पाल्न थाले । ४ वटा गाईबाट शुरु भएको उनको फर्ममा अहिले १ सय ४ वटा गाई रहेका छन् । आधुनिक प्रविधीको प्रयोग गरी व्यवस्थित तरिकाले पालिएका गाईबाट उनले दैनिक ११ सय लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

उनको फर्मबाट उत्पादित दूध शुरुमा भारतीय बजारमा बिक्री हुनेगथ्र्यो । तर भारतीय बजारमा सोचेजस्तो मूल्य नपाएपछि भारत निर्यात गर्न बन्द गरेर झापाकै डेरी उद्योगलाई दूध बेचीरहेका छन् । आफ्नै १ विघा जमिनको क्षेत्रमा गाईपालिरहेका उनले स्थानीय १० जनालाई समेत प्रत्यक्ष रोजगारी दिएका छन् ।

‘१ बिघा क्षेत्रफलमा गाईको गोठ रहेको छ, १७ बिघा जमिन लिजमा लिएर आधुनिक तरिकाले घाँस रोपेको छु ।’ सुवेदीले भने, ‘मैले चाहिँ यहीँ गर्न सकिन्छ भन्ने विश्वासमा कर्म गर्दै छु, आम्दानी पनि राम्रै छ, अझैँ गाई गोठ र संख्या बढाउने सोचमा छु ।’

७ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको गाई फार्मको पुँजी अहिले जमिनसहित २ करोड भन्दा बढी भइसकेको छ । उनले १७ बिघा जमिन लिजमा लिएर गाईका लागि ‘साइलेश’ प्रविधीबाट घाँस उत्पादन समेत गरिरहेका छन् । उनको यो व्यवसायलाई श्रीमती ऐश्वर्याले पनि साथ दिएकी छन् । आगामी दिनमा उन्नत जातको गाई उत्पादन गरी ५ सय गाईपालन गर्ने उनको लक्ष्य छ ।