काठमाडौं ।  यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

४६ आरोही समूहका १९३ आरोहीबाट झण्डै २६ करोड राजश्व संकलन भएको छ । पर्यटन विभागका अनुसार आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको छ ।

सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् ।

सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई-दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।

सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ ।