काठमाडौं । पछिल्ला ५ आर्थिक वर्ष (आव)मा नेपालबाट रू. ८ अर्ब ३० करोडका जुत्ताचप्पल निर्यात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार आव २०७०/७१ देखि आव २०७४/७५ सम्ममा उक्त परिमाणमा निर्यात भएको हो ।

आव २०७०/७१ मा रू. १ अर्ब ९३ करोड ८१ लाखको जुत्ताचप्पल निर्यात भएको थियो । आव २०७१/७२ मा उक्त आँकडा ४० करोडले बढेर रू. २ अर्ब ३४ करोड ६३ लाख पुगेको थियो । त्यसयता भने क्रमशः निर्यात घटेको देखिन्छ ।

नेपाली जुत्ताचप्पल उद्योगले स्वदेशी बजारको ६२ प्रतिशत माग धानेको छ । विदेशबाट आयात हुने जुत्ताचप्पलको मुख्य अंश चीन र भारतको रहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले बताएको छ । यूरोपेली र मध्यएशियाका मुलुकबाट पनि जुत्ताचप्पल आयात हुने गरेको छ ।

एशोसिएशनका अनुसार नेपाली उद्योगमा रू. २० अर्बभन्दा बढीको लगानी छ । सरकारले ‘एकीकृत व्यापार रणनीति’ (एनटीआईएस) को निर्यात सम्भावना रहेका नौओटा वस्तुको सूचीमा जुत्ताचप्पललाई पनि समावेश गरेको छ । याे खबर आर्थिक अभियान दैनिकमा छ ।