पाँचथर । फिदिम नगरपालिकाका प्रमुख ओनहाङ नेम्वाङले सोमबार प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायलाई फिर्ता पठाउन पत्राचार गरेका छन् । सरुवा गर्ने अधिकार नभएका नेम्वाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत् काज फिर्ता गरिदिन अनुरोध गरेका हुन् ।

उपाध्यायलाई समेत दिइएको बोधार्थमा पत्र प्राप्त हुनासाथ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भइजान भनिएको छ । आफूद्वारा हस्ताक्षरित निर्णयको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, जिल्ला समन्वय समिति पाँचथर, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका उप-प्रमुख र सबै वडाध्यक्षहरुलाई दिएका छन् ।

पाँच महिनाअघि २०७५ भदौ २० गते फिदिम आएका उपाध्यायलाई काम सन्तोषजनक नभएको काज वा बिदामा बस्दा कानुन अनुसार नगरेको, नगरपालिकाको विकास निर्माण र समृद्धिमा असर परेको जस्ता आरोप नेम्वाङले लगाएका छन् ।

मन्त्रालयलाई अर्को व्यवस्था गर्न पनि अनुरोध गरेका छन् । उपाध्यायले भने आफू जाने मनस्थितिमै रहेको बताए । ‘म जाने मनस्थितिमै थिएँ’ उनले भने, ‘सबै कुरा यहाँका नागरिकलाई थाहा छ ।’ बाँकी विषय भने अधिकृत उपाध्यायले खोल्न चाहेनन् ।

जनताबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच यहाँमात्रै नभएर अधिकांश स्थानमा विवाद छ । कर्मचारीहरू जनप्रतिनिधिले नहुने काम पनि जबरजस्ती गर्न दबाब दिने गरेको बताउँछन् भने जनप्रतिनिधि आउनुअघि आफूले मनमौजी गरेको जस्तै व्यवहार कर्मचारीले दोहोर्‍याउन खोजेको आरोप लगाउँछन् ।