अर्जुनधारा, झापा । लामो समयको प्रयासपछि अर्जुनधाराको साप्ताहिक हाटबजार शनिश्चरेको यसपटक व्यवस्थापन गरिएको छ ।

१२५ वर्ष पुरानो इतिहास बोकेको शनिश्चरे बजार आजबाट नयाँ स्थानमा सारिएको हो । स्थानीय समाजसेवी भगीरथ लुइँटेलले एक विगाहा सात कट्ठा जमिन बजारका लागि प्रदान् गरेपछि बजारलाई समुचित ढंगले व्यवस्थित गर्ने उद्देश्यले नगरको नीतिअनुसार अर्जुनधारा उद्योग वाणिज्य संघ र वडा न.८ को पहलमा शनिश्चरे बजार सारिएको हो ।

पहिलो दिन व्यापारीहरुको निकै चहलपहल देखियो । उनीहरु उत्साहका साथ आ–आफ्नो व्यापारिक स्थल बनाउन पनि निकै व्यस्त देखिए ।
अर्जुनधारा–८ स्थित बाह्रदशी खोलाको किनारमा रहेको प्लटिङमा सारिएको शनिश्चरे बजारलाई एक औपचारिक समारोहका बीच उदटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख हरिकुमार रानाले शनिश्चरे बजार सर्दा व्यापारीलाई असहजता भए पनि व्यापारीकै हकहितमा समूचित व्यवसथापन गर्न वडा, वाणिज्य संघ र नगर नीतिगतरुपमा अघि बढ्ने बताए ।

वाणिज्य संघका अध्यक्ष कार्यक्रमका सभापति वसन्त सोमानीले यसपछिको बजारलाई डिजिटल बजार बनाउने भन्दै लाइट, फ्रि वाइफाइको सुविधा दिनुका साथै व्यापारीहरु एकमत भए हप्ताको दुई पटकसम्म बजार लगाउन सकिने बताए । कार्यक्रममा ८ का वडाध्यक्ष गापीचन्द्र गौतम, १० का वडाध्यक्ष बलदेव गोम्देन, प्रनाउ ओजेश ओली, जग्गादाता भगिरथ लुइँटेल, उनकी आमा रनमाया र श्रीमती द्रौपदा लुइँटेल, पूर्वाधार विकास समिति संयोजक रमेश तिखत्री, ८ का परिषद् सदस्य सेवन्त ढकाललगायत करिब चार सय व्यापारीहरुको उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा सटरका व्यापारीबाहेक साप्ताहिक हाटका लागि बाहिरबाट आउने तथा शनिश्चरे चौक बजारमा व्यापार गर्दै आएका व्यापारीलाई स्थानान्तरण गरिएको छ ।