पाँचथर / उच्च हिमाली क्षेत्रको वन ,बाताबरण जोगाउदै फालोट क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने उद्देश्यका साथ आज बैशाख १ गते तेस्रो चौरी महोत्सब आयोजन हदैछ ।

परम्परागत चौरी पालन हराउदै गएकोमा फालेलुङ गाँउपालीका अन्तर्गतका सिदीन ,प्राङबुङ ,मेमेङका चौरी पालक कृषकको अगुवाइमा चौरी महोत्सब हुँदै आएको हो । फालेलुङ –४ स्थित चार रातेमा एक दिने महोत्सव हुनेछ । महोत्सवको उद्घाटन प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले गर्ने कार्यक्रम रहेको छ ।

तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गते महोत्सव हुदै आएको छ । फालोट क्षेत्र उच्च हिमाली क्षेत्र हो । नेपाल भारत सिमानमा पर्ने उक्त क्षेत्रमा चौरी महोत्सब आयोजना हुन लागेको हो ।

दुई बर्ष अगाडीबाट सुरु भएको महोत्सवमा नेपाल, भारत र भुटानबाट महोत्सवको अबलोकन गर्न पर्यटकहरु आउने गरेका छन् । चौरी महोत्सबमा महोत्सवमा पाँच सयभन्दा बढी चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ । यस क्षेत्रमा २१ वटा चौरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौरी गोठहरु घट्दै गएका छन् ।

गोठमा चौरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको प्रमुख प्रशाकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए । महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । वस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौरी महोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ । १७ लाखको अनुमानित लागतमा सम्पन्न गर्ने लक्ष्य आयोजकको रहेको छ ।