तेह्रथुम । गुराँसको राजधानीका रुपमा प्रख्यात तीनजुरे मिल्के जलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ट गन्तब्य वनाउनका लागि पहल थालिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सरकार, संघ र प्रदेशका सांसद, गैरसरकारी संस्था, निजी क्षेत्र र सरोकारवालाको पहलमा प्रख्यात तीन जुरेमिल्के जलजले क्षेत्रलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको हो ।

तेह्रथुमको बसन्तपुरमा आयोजित बृहत अन्तर्क्रियामा तीनजुरे मिल्के जलजले क्षेत्रको व्यवस्थापन कुन मोडलमा गर्न सकिन्छ भन्ने बारेमा वृहत छलफल गरिएको छ । वनमन्त्री शक्ति वस्नेतले यस क्षेत्रको जैविक विविधताको संरक्षण गर्दै देशकै उत्कृष्ट गन्तब्य बनाउन मन्त्रालयले ध्यान दिने वताए ।

प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियतले पुरानो सोच र ढाँचाबाट माथि उठेर यो क्षेत्रको तिव्र विकासमा प्रदेश सरकारको चासो रहने बताए ।

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भटटराईले टिएमजे क्षेत्रलाई नयाँ गन्तब्यका रुपमा विकास गरेर जनताको समृद्धिसँग जोड्नका लागि आफूहरु लागि परेको वताए ।

संखुवासभाबाट निर्वाचित ंप्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले टीमएमजे क्षेत्रलाई देशकै एउटा उत्कृष्ट पर्यटकीय क्षेत्र वनाउन नयाँ सोचका लागि अघि बढ्नुपर्ने बताए । तेहथुमका संघीय सांसद भवानी खापुङले स्थानीयवासीको समृद्धिसँग जोडेर सो क्षेत्रको विकास गरिनुपर्ने धारणा राखे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल,आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य सचिव गोविन्द माझी, सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा। धनश्याम गुरुङले यस क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तेहथुमका प्रदेश सांसद लक्षमण तिवारीले वसन्तपुर तीनजुरे क्षेत्रमा २९ प्रजातिका गुराँस पाइने सो क्षेत्रमा १९ वटा स्थानीय तह पर्ने जानकारी दिए ।