मेचीनगर/ मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ बुधबार नेपाल भारतको सीमा मेचीपुलबाट भएको छ । अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रमुख आचार्यले आफ्नो गाउँ तथा नगर क्षेत्रभित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई स्वच्छ, सफा, स्वस्थ्य, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न आग्रह गरे । सफा नेपाल अभियानमा सहभागी बनौ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्नेलगायतका नारा लेखिएको व्यानरसहित शुरु अभियानमा सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाहरुका प्रमुख प्रतिनिधिहरुले साथ दिएका थिए ।

कार्यक्रममा नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाईसम्बनधी कार्यविधि २०७५ समेत प्रमुख आचार्यलाई प्रदान गरिएको थियो । वागमती सफाई अभियानका अभियान्ता बिर्तामोड सरसफाईका अध्यक्ष भरत बस्नेतको नेतृत्वमा रहेको अभियान र आगामी बुधबारबाट पश्चिम महेन्द्रनगरबाट सुरु हुने अभियान एकसाथ भेला भएर मेची महाकाली सरसफाई अभियान समापन हुनेछ ।

अभियान उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी राजस्व एवम् भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरे, मेची सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलसहित अन्य पदाधिकारीहरु, रेडक्रमकर्मी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।