अर्जुनधारा । गत सातादेखि व्यवस्थापन गरिएको झापाको पुरानो बजार शनिश्चरेको साप्ताहिक हाट लगाउने स्थानमा सब्जी हट्टी सार्ने विषयमा स्थानीयले विमति गरिरहेका छन्

तर, नगरका पदाधिकारी तथा व्यापारी वर्गले बजारलाई पर्यटकीयको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । शनिश्चरे बजारको सडक पेटीमा लाग्दै आएको हाटबजारलाई अर्जुनधारा ८ कै बाह्रदशी खोला उत्तरमा बजार व्यवस्थापन समितिले गत साता सारेको छ । तर, शनिश्चरे बजारमा रहेका घरधनीहरुले बजार सारिँदा मर्कामा परेको भन्दै अझै पनि विमति जनाएका हुन् ।

नगरपालिकाको सभाहलमा शुक्रबार भएको सर्वपक्षीय भेलामा स्थानीयले सब्जी बजार सार्न नहुने भन्दै बजार सारिँदा बजार बढ्ने अवस्था नरहेकाले पछि घरधनीलाई असर पुग्ने स्थानीय गौरीशंकर श्रेष्ठले दुःखेसो गरे । बजार राम्रो बनाउनमा सहमत भए पनि स्थानीयको गाँसबासको बारेमा पनि नगरले सोच्नुपर्ने धारणा राखे ।

साविक सब्जी बजारलाई पनि नयाँ व्यवस्थापन गर्न खोजिएकोमा विरोध जनाउँदै पूर्व वडाध्यक्ष विनोद थापाले बजार सारेर गाडी स्टेण्ड बनाउन नदिने धारणा राखे । उनले १३ कठ्ठा जग्गा नगरको त्यही भएकाले त्यसको सदुपयोग गर्न पनि सुझाए ।

नगरका मेयर हरिकुमार रानाले दिगो पर्यटकीय विकास र सहरी सुन्दरता कायम गर्नका लागि पनि बजार व्यवस्थापन गरिएको बताए । नगर गौरवको योजनाअनुसार शनिश्चरे बजारलाई उदाहरणयोग्य बनाउन गत वर्षदेखि सुरुवात गरेका हौँ, मेयर रानाले भने ।

सब्जी बजार, माछा मासु पसलको व्यवस्थापनका लागि पहल भइरहेको भन्दै साविक सब्जी बजारलाई सार्न पनि सकिन्छ वा अर्को विकल्प पनि खोज्न सकिने उनले बताए । बजार व्यवस्थापनमा कसैको विरोध भएको जस्तो आफूलाई नलागेको बताउँदै उनले एकआपसमा बुझाबुझ नभएकोले समस्या देखिएको बताए ।

थुप्रै कुरामा करेक्सन गरेर अघि बढ्नुपर्ने अवस्था आएको भन्दै जस लिने बेलामा अघि बढ्ने र समस्या आउँदा दोषारोपण गरेर पछि हट्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको उनको धारणा थियो ।

बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुमार भट्टराईले बजारमा बस्ने स्थानीयले घरधनीका रुपमा लिएरमात्र पनि सोच्न नहुने भन्दै उपभोक्ताको मागबमोजिम बजार व्यवस्थापन गरेर स्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिए । नगरको सोचअनुरुप स्मार्ट सिटी बनाउन विकल्पसँगै अघि बढ्नुपर्नेमा जोेड दिएका उनले शनिश्चरे बजारक्षेत्रमा भएका पसलमा ब्राण्डेड सामान पाउने मार्केटको रुपमा विकास गर्न स्थानीय व्यापारी लाग्नुपर्ने बताए ।

इलामसँग सडक जोडिएकोले त्यहाँबाट आएका गाडीलाई कहाँ राख्ने भन्नेबारेमा पनि छलफल गर्न आवश्यक रहेको सुनाएका उनले नयाँ व्यवस्थापन गरिएको बजारमा स्थानीय व्यापारीलाई प्रमुख प्राथमिकताामा राखेर स्थान दिनुपर्ने अर्को विकल्प हुनसक्ने बताए ।

कार्यक्रममा ८ नम्बर वडाका अध्यक्ष गोपीचन्द्र गौतमले खाली जग्गाको विकल्प धेरै भएको भन्दै पर्यटकीय नगरको रुपमा विकास गरे पर्यटकका लागि गाँस, बासको व्यवस्था गर्न सकिने विकल्प प्रस्तुत गरे । उनले सडकपेटीमा बजार लगाउँदा दैवी विपत्तिमा ठूलो दुर्घटना व्यहोर्न बाध्य सहनुको विकल्प नरहेको पनि प्रष्ट पारे ।
१० नम्बर वडाका अध्यक्ष बलदेव गोम्देनले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके सबै उमेर समूहलाई लक्षित गरी ग्रिनेरी फिटनेशको विकास गर्न सकिने बताए । उनले नगरको गौरव योजनाको विरोध नगर्न आग्रह गदैै जनप्रतिनिधिको उर्जालाई समर्थन गरेर जान पनि सबैमा अनुरोध गरे ।

अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्लले नगरसँगको समन्वयमा व्यापारीकै हितका लागि बजारको नयाँ व्यवस्थापन गरिएको बताए । शनिश्चरे बजारलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्नका लागि पनि पुरानो बजारको नयाँ व्यवस्थापन गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, नेकपा अर्जुनधाराका अध्यक्ष प्रेमसागर सापकोटा, नेकाका सभापति हेमराज खरेललगायतले आफ्ना धारणा राखेका थिए ।