काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै रहेको जनाएको छ ।

महाशाखाले आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको जनाएको छ । महाशाखाले एक बुलेटिन जारी गर्दै यो प्रणाली फेरी उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने जनाएको छ ।

महाशाखाले हिमाली क्षेत्रमा भाचरी हिमपात हुनसक्ने भएकाले हेलिकप्टर नउडाउन आग्रह गरेको छ । बुलेटिनमा भनिएको छ, ‘पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ ।’

बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयांग तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।

साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार)पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।’

नेपाल समाचारपत्रबाट