झापा । झापाको खुदुनाबारी चौकमा निर्माण गरिएको किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ ।

शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको जानकारी दिएको छ ।

अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बरको सीमामा पर्ने खुदुनाबारी चौकमा समितिले साडे सात फिट अग्लो महागुरु फाल्गुनन्दको शालिक राखिसकेको छ । १६औँ राष्ट्रिय विभूति समेत रहेका महागुरु फाल्गुनन्दको शालिक एक समारोहका बीच किरात गुरु आत्मानन्द लिङदेन र प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्द तम्याहाङले अनावरण गर्ने कार्यक्रम रहेको समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

झापा सितापुरीका मूर्तिकार भक्त राईले एउटै ढुंगाबाट तयार पारेको उक्त शालिक ६ फिट गोलाइमा १५ फिटको उचाइको रहने बताइएको छ । मूर्ति निर्माणका लागि अर्जुनधारा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष महेन्द्रकुमार आङदेम्वेले बताए । उक्त मूर्तिको तौल ६ क्वीन्टल रहेको छ ।

उक्त शालिकको एक कार्यक्रमका बीच खुदुनाबारीमा करिब तीन वर्षअघि स्थानीय ज्येष्ठ नागरिक धर्मलाल लिङदेन र हर्कनारायण श्रेष्ठले शिलान्यास गरेका थिए ।

संविधानसभा सदस्य प्रेम गिरीले आफू प्रतिनिधि सभा सदस्य रहेकै बेला साविक खुदुनाबारी गाविसले पनि महागुरु फाल्गुनन्दको शालिक निर्माण गर्ने योजना बनाएको बताए ।

जब नेपाली भाषी भूटानी शरणार्थीहरु खुदुनाबारीको कैदले जंगलमा आएर बसोबास गरी किरात धर्मको संरक्षण सम्वद्र्धनमा लागे तबदेखि गैरकिरात धर्मावलम्बी जागरुक भएको उनको भनाइ छ ।

सांस्कृतिक विविधता भएको शरणार्थी समुदायमा किरात धर्मको उत्थान गर्न जुटेपछि ०५१ सालमा धुपबत्ती बालेर ‘मिङ्सो माङहिम’मा पूजापाठ हुन थालेको विगत सुनाउँदै उनले त्यही कार्यबाट किरात धर्ममा परिवर्तन आएको अनुभव सुनाए ।

०५९ सालमा भूटानी शरणार्थीका साथमा स्थानीय जुटेपछि ‘मिङ्सो माङहिम’ निर्माण भएको जानकारी दिँदै उनले त्यहाँबाट दिव्य प्राप्त भइ गैरकिरात पनि आकर्षित भएको बताए ।

किरात धार्मिक स्थलको रुपमा विकसित भइरहेको त्यस अवस्थामा माङसेबुङलाई लक्षित गरी खुदुनाबारीबाटै ‘सर्किट’ बनाउन सुरु गरेपछि महागुरु फाल्गुनन्दको शालिक स्थापना गर्ने अवधारणा अघि बढेको उनले सुनाए ।

नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने रणनीतिलाई महागुरु फाल्गुनन्दको शालिकले थप मद्दत पु¥याएको बताइन् ।

यस क्षेत्रमा धार्मिक पर्यटनका निम्ति विभिन्न योजना सञ्चालन भइरहेको बताउँदै उनले स्थानीयले गरेको कार्यको प्रशंसा गरिन् । खुदुनाबारी क्षेत्रमै फाल्गुनन्द मार्ग, फाल्गुनन्द स्मृति पोखरी र फाल्गुनन्द शान्ति वन वाटिका निर्माण भइरहेका छन् ।

करिब १२ लाख ७५ हजारको लागतमा शालिक स्थापना गर्न सकिने अनुमान गरिएको कार्यक्रममा झापा, इलाम, पाँचथरलगायतका किरात धर्मावलम्वीहरुको सहभागिता रहने बताइएको छ ।

समितिका अध्यक्ष महेन्द्रकुमार आङदेम्वे, ३ नम्बर वडाध्यक्ष जीवन भण्डारी, स्थानीय अगुवा नरेन्द्र इङनाम, पूर्व जनप्रतिनिधि नरबहादुर कन्दङालगायतले बोलेका थिए ।

महागुरु फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २२ गते इलाममा जन्म भएको थियो भने प्रत्येक कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरेको छ ।