अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरे बजारक्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीको एक समूहले शनिअर्जुन उद्योग वाणिज्य संघको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

दुई वर्षको कार्यकाल रहने विधान भए पनि संघ तीन वर्ष आठ महिनासम्म कुनै साधारणसभा नगरी स्थानीय व्यापारीविरुद्ध एकल निर्णय गर्दै हिँडेको भन्दै शनिश्चरे बजार संयुक्त संघर्ष समितिले आइतबार एक विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । संघको वैधानिकताप्रति जिल्ला प्रशासन कार्यालय झापालाई पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।

वर्तमान कार्य समितिको कार्यावधि सकिए पनि स्थानीय व्यापारीविरुद्ध निर्णय गर्दै जबरजस्ती कार्यालय सञ्चालन गरेको आरोप संघर्ष समितिका संयोजक सिद्धार्थ सोमानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

केही जग्गाधनी व्यवसायीलाई फाइदा पुग्नेगरी संघले ऐतिहासिक शनिश्चरे बजार समाप्त पार्ने निर्णय गरेको भन्दै विज्ञप्तिमा आजैको मितिबाट कुनै पनि व्यवसायी संघको निर्णय मान्न बाध्य नहुने पनि चेतावनी दिइएको छ ।

शनिश्चरेको साप्ताहिक हाटलाई सातपत्रेमा स्थानान्तरण गरिएको विरोधमा बजार बन्द घोषणा गरेको संघर्ष समितिले बुधबारपछि अर्को निर्णय गर्ने सदस्य विमल भट्राईले जानकारी दिए । उनका अनुसार नगरपालिकाले वार्तामा बस्ने आशयको पत्राचार गरेकाले तत्काल अर्को निर्णय नगरिएको पनि उनले बताए ।

फाइल तस्वीर