झापा । अर्जुनधारा नगरपालिकाको ९ नम्बर वडाले स्थानीय कृषक समूहलाई अग्र्यानिक खेतीसम्बन्धी एकदिने तालिम सोमबार सम्पन्न गरेको छ ।
वडामा गठित ११ वटा कृषक समूहमा आवद्ध ४० जना कृषक सहभागी तालिमको उद्घाटन नगरकी उपमेयर कमला खतिवडा आचार्यले गरेकी थिइन् । बाहिरबाट आउने विषादीयुक्त उत्पादन रोक्नका लागि नगरमा अग्र्यानिक उत्पादन गर्न जरुरी रहेको उनले बताइन् ।
सबैले अग्र्यानिक खेतीको कुरा गरे पनि व्यवहारमा उतार्न नसकेका कारण विषादीयुक्त कृषि उत्पादन खान बाध्य हुनुपरेको बताउँदै एक परिवारमा एक रोगले ग्रस्त भएको उनको भनाइ थियो ।
अग्र्यानिक खेतीका लागि नगरले कृषि पकेट क्षेत्र, पशु पकेट क्षेत्र घोषणा गरेर कार्यान्वयनमा गइसकेको बताउँदै उनले आउँदो आर्थिक वर्षमा पूर्वाधार विकास निर्माणमा भन्दा कृषि, पशु, शिक्षा, स्वास्थ्यमा बढी बजेट विनियोजन गर्न लागेको पनि उपमेयर खतिवडाले जानकारी दिइन् ।
तालिम लिएर अग्र्यानिक खेती गरे बजार खोज्न नपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने बताउँदै उनले सहभागीले अग्र्यानिक उत्पादन गरे तालिम सफल हुने सुनाइन् ।
अर्जुनधारा ९ नम्बर वडाको विषादी न्यूनीकरण गर्दै अग्र्यानिक खेतीमा लगानी गर्ने उद्देश्यले विनियोजित एक लाख रुपैयाँबाट तालिम प्रदान गरिएको वडाध्यक्ष पुष्प प्रसाईले बताए ।
वडा सदस्य तथा बोर्ड सदस्य हरिमाया दाहालले स्वागत गरेको तालिमका सहभागीलाई ४५ हजार रुपैयाँबराबरको १५ वटा ड्रम अग्योनिक विषादी बनाउन प्रदान गरिएको छ ।
कृषि शाखाकी प्राविधिक मिना अधिकारीले सहजीकरण गरेको तालिमपछि सहभागीलाई ६ प्रकारको बीऊबिजन निःशूल्क प्रदान गरिएको वडा परिषद सदस्य मनोज तामाङले जानकारी दिए । तालिम वडामा गठित अग्र्यानिक खेती तालिमकी संयोजक दिपिका विष्टको अध्यक्षतामा भएको थियो ।
तालिममा स्थानीय झारपातबाट किटनाशक अग्र्यानिक विषादी बनाउने तरिका सिकाइएको थियो ।