खुदुनबारी । ८९औँ समाज सुधार दिवसको अवसर पारेर झापाको खुदुनाबारीमा महागुरु फाल्गुनन्द लिङदेनको शालिक अनावरण गरिएको छ ।

अर्जुनधारा २ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा स्थापित शालिकको किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङमा लिङदेनले अनावरण गरेका हुन् ।

१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको शालिक अनावरण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द सुब्बाले मातृभाषामा लिएको शिक्षा सहज हुने बताए । सबैको आकर्षण अंग्रेजी भाषातर्फ भई आफ्नो भाषाहरुलाई ओझेलमा पारेको हुँदा त्यसको संरक्षणको लागि जुट्नुपर्ने उनले बताए ।

१९८८ साल वैशाख २४ गते सम्पन्न भेलाबाट पारित भएको समाज सुधार गर्न गरिएको निर्णयहरु लागू गराउन महागुरु लिङदेनले पु¥याएको योगदानको चर्चा गर्दै उनको उक्त कार्य उदाहरणीय भएको बताए ।

खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडक खण्डअन्तर्गत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामाकरण गरिएको शालिक निर्माण समितिका सदस्य खगेन्द्र लिङदेनले बताए ।

त्यसैगरी प्रमुख प्रा.डा.सुब्बाले समारोहको महाबत्ती प्रज्वलन गरेको सोही समारोहको अवसरमा फाल्गुनन्द चोक हुँदै कैदलेस्थित फाल्गुनन्द शान्ति वन वाटिका जाने फाल्गुनन्द मार्गको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

उक्त मार्ग स्तरोन्नति गर्न सांसद् पवित्रा निरौला खरेलको सांसद् विकास कोषबाट २० लाख र वडाबाट पाँच लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिए ।

धर्मगुरु लिङदेनबाट आर्शीवाचन प्रस्तुत भएको कार्यक्रममा पूर्व मन्त्री एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य देउमान थेवेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष महेन्द्र आङदेम्बेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सदस्य विजेन्द्र एक्तेनले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भगिहाङ नेम्वाङ “रानीटारे साइँला”ले गरेका थिए ।

करिब ८ लाख रुपैयाँको लागतमा निर्मित शालिकको उचाई साडे सात फिट रहेको छ भने ६ फिट गोलाई रहेका शालिकको जगदेखिको उचाई १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिले जनाएको छ ।