झापा । अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे बजारका व्यापारीहरुले आफूहरु ‘विकास विरोधी’ नभएको बताएका छन् ।

नगरपालिकाले नगर गौरवको योजनाअनुरुप शनिश्चरे चौकमा व्यवस्थित पार्क निर्माण गर्दै सदियौँदेखि लाग्दै आएको साप्ताहिक हाट सारिएको विषयमा विरोध भइरहँदा मंगलबार भएको छलफलमा व्यापारीहरुले त्यस्तो बताएका हुन् ।

शनिअर्जुन उद्योग वाणिज्य संघले व्यापारीसँग कुनै छलफल नगरेको, द्वैध चरित्र बोकेर नगरपालिका र व्यापारीसँग व्यवहार गरेको, नगरपालिकाले पनि कुनै विकल्प विना नै हटिया सारेको र स्थायी व्यापारीका हितमा सम्बोधन नभएको भन्दै बजारक्षेत्रका व्यापारीले संघर्ष समिति गठन गरेर विरोध जनाउँदै आएका थिए ।

यसैबीच, वाणिज्य संघको पदाधिकारीले स्थानीय व्यापारी विकास विरोधी हुन् भन्ने संकेत गर्दै सामाजिक सञ्जालमा लेख्ने गरेकोप्रति असहमति जनाउँदै सरगम होटलका सञ्चालक विनोद श्रेष्ठले व्यापारी विकास विरोधी नभएको आफ्ना भनाइ राखे ।

नगर प्रमुख हरिकुमार रानामगरको अध्यक्षतामा भएको छलफलमा बोल्दै श्रेष्ठले बजार व्यवस्थापनमा नगरले समन्वय नगरे पनि वाणिज्य संघले सहकार्य गर्नुपर्नेमा कुनै पहल नगरेको गुनासो गरे ।

वाणिज्य र वडा कार्यालयले व्यापारीको समस्यामाथि सम्बोधन नगरेको दोहो¥याएका उनले सरोकारवालासँग छलफल र प्रक्रियामा नगएकाले समस्या सिर्जना भएको बताए ।

‘हटिया सारिएकोमा हाम्रो विरोध होइन’, उनले भने, ‘व्यापार घटेकोमा चिन्ता हो, विगत ६ महिनाको कारोबार डरलाग्दो छ ।’ नगरसँग त्यस्तो कुनै विकल्प वा सोच भए व्यापारी स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।

नगर गौरवको योजनाअनुरुप शनिश्चरे बजारमा कसरी पर्यटक आकर्षित गर्ने भन्नेबारे सरोकारवालासँग सहकार्य गर्न अनिवार्य रहेको बताउँदै उनले बजारमा ग्राहक घटेकोप्रति फेरि चिन्ता व्यक्त गरे ।

नगर प्रमुख रानाले राम्रो र आधुनिक बजार बनाउनका लागि स्थानीय व्यापारीले केही कुरामा त्याग गर्नुपर्ने बताए । व्यापारीको समस्या वाणिज्यसँग बसेर छलफल गर्नसके समाधानमा पुग्न सकिने बताएका उनले के विषयमा छलफल नगर्ने भन्ने विषय पनि अन्योल नै रहेको सुनाए ।

‘के ठिक, के बेठिक भन्ने नछुट्टिएसम्म करेक्सन गर्न पनि सकिन्न’, उनले भने, ‘समर्थन गरेर जाने ठाउँ पनि देखिन्न ।’ नगरले अघि सारेको नीति गलत वा त्रुटि भए सुझाव लिन तयार रहेको बताउँदै उनले समृद्ध नगर बन्नेमा सबै व्यापारीको साथ रहेको आशा व्यक्त गरे ।

असन्तुष्ट व्यापारीले वाणिज्यमा तालाबन्दी गरेको भन्दै वाणिज्यले नगरमा निवेदन दिएको बताउँदै मेयर रानाले दुई दिनभित्र छलफलको माध्यमबाट निकास निकाल्नुपर्नेमा जोड दिए । सोही निर्णयका आधारमा बजार व्यवस्थापनको स्थायी प्रक्रिया अघि बढाइने पनि उनले जानकारी गराए ।

छलफलमा बोल्दै बजारबासी गौरीशंकर श्रेष्ठले चोकका होटल तथा चिया पसललाई सकेसम्म नसार्न आग्रह गर्दैै बरु चोकमै व्यवस्थित गर्न आफ्ना भनाइ राखे । उनले सकिन्छ भने हटिया पनि नसारौँ भन्ने विचार राखेका उनले कृषि बजार चाहिँ सार्नै नमिल्ने जिकिर गरे ।

अर्का व्यवसायी राजु दाहालले वाणिज्य संघको दोहोरो भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै आक्रोस पोखे । व्यापारीसँग बजार नसार्ने सहमति जुटाएर नगरमा आएर बजार सार्न काँधमा काँध मिलाउने अभिव्यक्तिले वाणिज्यको भूमिका शंकास्पद रहेको उनको भनाइ थियो ।

नगर गौरवको योजना खुसीको विषय भएको भन्दै उनले बिना योजना बजार सारिँदा व्यापारी विस्थापित गरेर गौरवको योजना नहुने दाबी गरे ।

त्यस्तै, विमल भट्टराईले व्यापार नचल्ने अवस्था आइसकेकाले विकल्पसहितको स्मार्ट सिटी बनाउन नगरले पहल गर्नुपर्ने बताए । उनले सर्भे गरेर सडक, बजारलाई कति क्षेत्र चाहिन्छ छुट्याउन आग्रह पनि गरे ।

‘बनाउने अनि भत्काउनेमात्र पनि विकास होइन’, उनले नगरप्रति इंिगत गर्दै अगाडि भने, ‘शनिश्चरेको व्यापार घट्दै गएको छ, यसको व्यवस्थापन पनि विकास हुन सक्छ ।’

अर्का व्यापारी प्रकाश श्रेष्ठले शनिश्चरेको बजार खुद्रा बजार भएको, बजार भनेको भीडभाड नै हो भन्दै सकिन्छ भने चोकको वरिपरि नै बजार लगाउन आग्रह गरे ।

बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सञ्चारकर्मी कुमार भट्टराईले सातै दिन बजार लाग्ने सब्जी हट्टीलाई सबै व्यापारीले नसार्न मनसाय व्यक्त गरेकोमा समर्थन जनाउँदै नगरले साविककै स्थानमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

बजार सारिएको भन्दा पनि सब्जी हट्टी सारिनेमा व्यापारीको चिन्ता रहेको भन्दै उनले सब्जी बजारलाई दिगोरुपमा व्यवस्थित बनाउन पनि सुझाव दिए ।

बजारका पुराना व्यापारी शर्मिला बुढाथोकी गौतमले नगर गौरवको योजनाले आफ्नो आमाको बिल्लीबाठ हुने भन्दै दुःखेसो पोखिन् । आधा शताब्दीदेखि चोकबजारमा व्यापार गरी परिवारको गर्जो टार्दै आएकोमा अब विस्थापित हुनुपर्ने अवस्था आयो भन्दै दुःख व्यक्त गरिन् ।

छलफलमा नेकपाका राजु शेर्मा, नेकाका हेमराज खरेल, ७ नम्बर वडाध्यक्ष नविन ढुंगानालगायतले आफ्ना धारणा राखेका थिए । व्यापारीहरुले चोक बजारमा रहेको नाला दुर्घन्धित भएको भन्दै गुनासो गरेका थिए ।

नगरको मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले त्यसको व्यवस्थापन एक वर्षभित्र हुने नगर प्रमुख रानाले सबैलाई जानकारी गराएका थिए । पर्यटक आकर्षणका निम्ति व्यापारीले सेवा सुविधामा ध्यान दिनु पर्ने बताउँदै मेयर रानाले स्तरीयता, अग्र्यानिक वस्तु, अखाद्य वस्तुको प्रयोगमा कमी, म्याद गुज्रेका सामानको बिक्री गर्न नहुनेप्रति व्यापारी सचेत हुनुपर्ने बताए ।

बजारको फोहोर बाहिरको मानिस आएर बनाउने नभइ बजारबासी, व्यवसायीबाटै उत्पन्न हुने भएकाले त्यसको सहज विसर्जन कसरी गर्ने भन्नेबारे पनि व्यापारी मानसिकरुपमा तयार हुनुपर्नेमा उनले जोड दिए ।