मोरङ। उर्लाबारीस्थित नमूना बालगृहका १२ जनाभन्दा बढी बालबालिकाहरुलाई फुड पोइजन भएको पाइएको छ ।

४ जना सिकिस्त बनेपछि दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना भएकाछन् । अन्य बिरामीहरु भने औषधि खाएर बालगृहमा नै बसेको बताइन्छ ।

३ बर्षका प्रेम सेर्पा, ३ बर्षीय आदित्य धिमाल, ५ बर्षीया मनिका सार्की र ८ बर्षका सुवास सेर्पा लाइफलाइन अस्पतालमा भर्ना भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका बालरोग विशेषज्ञ डा. रजनिश मिश्रले बताए । बेड भर्ना गरेर नै उपचार गर्नु पर्ने अवस्था रहेकाले अहिले उनीहरुलाई भर्ना गरेर उपचार शुरु गरिएको उनले जानकारी दिए ।

त्यहाँ कार्यरत खगेन्द्र भण्डारी पनि अस्पताल भर्ना भएका छन् । बालगृहका एक सञ्चालकका अनुसार उनीहरुले दुईदिन अघि खाएको लड्डुका कारण फुड पोइजन भएको हुनसक्छ । आइतवारदेखि नै बालबालिकाहरु बिरामी परेको बताइएको छ । उनीहरुमा वान्ता हुने, झाडापखाला लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको थियो ।

लाइफलाइन अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिनाथ भट्टराईका अनुसार बालबालिकाहरुको उपचार अस्पतालले निःशुल्क रुपमा गर्दैछ । बालगृहका बालबालिकाहरुको उपचार अस्पतालले पहिलादेखि नै निःशुल्क गर्दै आएको समेत उनले जनाए ।