झापा । अर्जुनधारा ९ स्थित कालिस्थान माध्यमिक विद्यालयमा नगरको कृषि शाखाले एकदिने कृषिसम्बन्धी शिक्षा प्रदान गरेको छ ।

कृषि शाखाको वार्षिक कार्यक्रमअनुसार बुधबार कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई करेसाबारी, जैविक विषादी, रसायनिक विषादी न्यूनीकरणका विषयमा जानकारी गराइएको थियो ।

करिब २ सय विद्यार्थी सहभागी भएको कार्यक्रममा विद्यार्थीले आफ्नो घरको करेसाबारीमा विषादीरहित सागसब्जी उत्पादन गर्न सकून् भन्ने कृषिसम्बन्धी शिक्षा दिइएको कृषि प्राविधिक मीना अधिकारीले बताइन् ।

विद्यालय तहबाटै कृषि के हो ? भन्ने विषयबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा कृषि प्राविधिक अधिकारीसहित कञ्चन घिमिरे र पवित्रा उप्रेतीले सहजीकरण गरेका थिए । कृषि शाखाले यसअघि शनिश्चरे र महारानीगञ्ज माविमा पनि विद्यार्थीलाई कृषि शिक्षा प्रदान गरेको थियो ।