झापा । पूर्वको पशुपतिनाथको मन्दिरले परिचित अर्जुनधारा जलेश्वरधामलाई धार्मिक पर्यटन विकास र प्रवद्र्धन गर्नका लागि बिहीबार अन्तरक्रिया गरिएको छ ।

धामको आयोजना तथा नेपाल पर्यटन बोर्ड काठमाडौँको सहआयोजनामा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि गुरुयोजना तयार गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

अर्जुनधारा जलेश्वरधामलाई पर्यटन बोर्डले धार्मिक पर्यटन क्षेत्रमा नेपालको १००औँ सूचीमा समावेश गरेसँगै यसको विकास र प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । सहभागी वक्ताहरुले धामको पूर्वाधार विकास, सडक, पार्किङ, पर्खाल निर्माणसँगै धामको ऐतिहासिक पृष्ठलाई जीवन्त राख्ने किसिमका कार्य गर्नुपर्ने सुझाए ।

धामका सचिव शिवलाल खतिवडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले धाम परिसर पर्यटनको हिसाबले राम्रो भन्दै यसको सर्वाङ्गीण विकासका लागि बोर्डले पनि चासो व्यक्त गरेको बताए । सन् २०१८ मा १० लाखभन्दा बढी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको पनि तथ्यांक उनले सुनाए ।

उनले तत्काल धामको भौतिक विकास निर्माणका लागि केही गर्न नसक्ने बताउँदै प्रवद्र्धनात्मक कार्यका लागि प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला खतिवडा आचार्यले नगरको समुन्नत विकाससँगै अर्जुनधारा जलेश्वरधामलाई धार्मिक पर्यटनसँग जोडेर काम गर्दै आएको सुनाइन् ।

कृषि, पशु पकेट क्षेत्रमा जसरी नगरले बजेट विनियोजन गरेर विकास गर्न खोजेअनुरुप नै धार्मिक पर्यटनका लागि पनि नगरले विशेष कार्य गर्न लागेको योजना पनि उनले सुनाइन् ।

कार्यक्रममा नगरका शाखा अधिकृत विजय शर्मा, ८ नम्बर वडाध्यक्ष गोपीचन्द्र गौतम, सरोजकुमार ओली, कुन्दन भट्टराई, डिल्लीराम दाहाल, चतुर्भुज काफ्ले, प्रेमसागर सापकोटा, दिपेन्द्र ढकाललगायतले आफ्नो सुझाव राखेका थिए ।

धामका निमित्त अध्यक्ष अम्बिकाप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भीमचन्द्र भट्टराईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला दाहालले गरेकी थिइन् ।