झापा/ झापाको अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालयलाई २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा निशुल्क प्राप्त भएको छ ।

वडा कार्यालयको भवन निर्माणका लागि बिर्तामोड–१ निवासी दाता लक्ष्मण बस्नेतले २४ लाख बराबरको मूल्य चलनचल्तीमा पर्ने ४ कट्ठा जमिन उपलब्ध गराएको वडाअध्यक्ष दुर्गा प्रसाद दाहालले जानकारी दिए ।

सो जग्गा अर्जुनधरा नगरपालिका वडा–४ को कार्यालय भवन निर्माणका लागि उपयोग गर्ने बताइएको छ । वडा–४ स्थित हुमागाई टोलमा किता नं. ४४७ को २ बिघा १६ कठ्ठा जग्गा मध्ये ४ कठ्ठा जग्गा बस्नेतले निःशुल्क रूपमा दिएका हुन् ।

वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको वडाध्यक्ष दाहालले बताए। जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको प्रमाणपत्र नगर प्रतिनिधि खगेन्द्र लिङदेनलाई बुझाएको उनका छोरा राम बस्नेतले जानकारी दिए ।

वडा कार्यालयले हाल भाडाको घरबाट सेवा दिइरहेकोे छ। जग्गा दाता बस्नेत देउमाई नगरपालिका–१ डम्बर देवी माविमा शिक्षक भई काम समेत गरेका हुन् । उनी शिक्षण सेवा निवृत्त भएपछि पछिल्लो दिनमा उनी सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनी खवतरी बस्नेत सेवा समाजका अध्यक्ष समेत हुन् ।