इलाम । इलामको रोङ गाउपालिकाले आगामी बैशाख ३० गते सार्बजनिक बिदा दिने भएको छ । महानन्द सापकोटाको जन्म जयन्तीको अवसरमा गाउँपालिकाले बैशाख ३० गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

भाषाशास्त्री महानन्द सापकोटाको १ सय २३ बर्ष अघि बैशाख ३० गते हालको रोङ गाउपालिका ५ साबिक इरौटार गाबिस वडा नम्बर ८ को देवानछापमा जन्म भएको थियो । उनै भाषाशास्त्रीको सम्मानका लागि गाउपालिकाले जन्म दिनको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको गाउपालिकाका अध्यक्ष शमसेर राईले बताए ।

पूर्वको पर्यटकीयस्थल तथा पुराना भूमे राजाले सुरक्षा किल्लाको रुपमा प्रयोग गरेको र भाषा, संस्कृतिविद महानन्द सापकोटाको जन्मस्थलका रुपमा रहेकाले देवानछाप निकै महत्व पूर्ण रुपमा हेर्ने गरिएको छ । हाल देवानगढी जाने करिब चार किलोमिटर पदमार्ग निर्माण भइसकेको छ ।

देवनछाप पुग्नको लागि बहुवन–देवानगढी हुँदै देवानछाप डाँडासम्म पुग्ने पदमार्ग निर्माण सम्पन्न भएपछि देवनछाप पुग्न सहज भएको वडाअध्यक्ष युवराज खाप्तुवा राईले बताए । ‘यसबर्ष गाउपालिकाले स्थापना गरेको महानन्द स्मृति छात्रबृती बितरण गरिने छ’ वडाअध्यक्ष राईले भने– ‘महानन्दको बिषयमा कार्यपत्र प्रस्तुत गर्ने र स्थलगत कबिता लेखन प्रतियोगिता पनि आयोजना हुनेछ ।

महानन्द सापकोटा स्मृति प्रतिष्ठानले देवानछापमा कार्यक्रम गर्ने र सो दिन गाउपालिकाले सार्वजनिक बिदा दिने भएकाले स्थानीय महत्वको रुपमा लिइएको छ ।