झापा । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा कार्यालय प्रमुखका रुपमा मोहनकुमार थापा आउने भएका छन् । काठमाडौँ प्रहरी परिसरमा कार्यरत थापा आउने भएका हुन् ।
बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख सुवास खड्का एकपछि अर्को घटनामा विवादित बनेपछि थापा आउने निश्चित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिर्तामोड इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रमुख रहने व्यवस्था छ ।
साविकका प्रहरी प्रमुख खड्कालाई आफ्नो कार्यकक्षमा सर्वसाधारणले आफूखुसी तस्वीर खिचेर प्रहरी विभागको मर्यादाविपरीत आलोचित हुनु परेपछि १ नम्बर प्रहरी प्रदेश कार्यालयले छानविनका क्रममा तानेको थियो ।
अब उनको स्थानमा काठमाडौँ परिसर कार्यालयको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीका वौद्धिक प्रहरी अधिकृतका रुपमा परिचित प्रनाउ थापा आउने भएका हुन् । कानुनमा दख्खल राख्ने डिएसपी थापा काजमा आउन लागेको बताइएको छ । आइतबार दिउँसो उनलाई काज सरुवा गरेको हो ।
डिएसपी खड्काको कार्यकक्षमा रहेको कुर्सीमा बसेर म्यानपावर व्यवसायी हर्कराज गुरुङले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी प्रदेश प्रहरी कार्यालय विराटनगरमा छानविनका लागि तानिएका थिए ।