फिदिम/पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सार्ने निर्णयबिरुद्ध स्थानीयले आन्दोलन थालेपछि गाउँपालिकाको कार्य प्रभावित भएको छ ।

गाउँपालिकाका सबै निर्वाचित प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गाउँसभाले केन्द्र सोही गाउँपालिकाको याम्बाबुङ र कोल्बुङ बिचमा सार्ने निर्णय गरेको थियो । सो निर्णय आफुहरुको भावना बिपरित भएको भन्दै हालको केन्द्र रहेको घुर्बिसे पञ्चमीका स्थानीयले आन्दोलन थालेका हुन ।

आन्दोलन अन्तरगत स्थानीयले गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द गरिएको छ । सरकारी कर्मचारीको आवास गृहमा समेत ताला लगाइएका कारण कर्मचारी बाहिरै भएका छन ।

पञ्चमीबाट केन्द्र सरे बजार बिस्थापन हुने सहितका कारण देखाउँदै स्थानीयले केन्द्र सार्न नहुने बताइरहेका छन । ‘हामी केन्द्र स्थापना गर्न लामो समयसम्म लड्यौ’, स्थानीय तेजु चेम्जोङले भने, ‘गाउँसभाको पछिल्लो निर्णयले हामीलाई आन्याय भएको छ ।’

जनप्रतिनिधिले गाउँ सभा बाट निर्णय गरिसकेको अवस्थामा आन्दोलन सुरु भएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अनिल तिखत्रीले बताए । उनले भने, ‘जनप्रतिनिधि र स्थानीय बिचमा समन्वय गराउने बिषयमा काम गरिरहेका छौ । क्वाटरमा समेत ताला लगाइएका कारण केही समस्या भने भएको छ ।’