इलाम । आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भएपनि इलामका दुई बगानका भने श्रमिक अझै काममा फर्किन सकेका छैनन् ।

सांघाईं ग्रुपले लिजमा लिएका इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने सांघाईं ग्रुपले ‘अहिलेकैस्थितिमा नयाँ नियमअनुसारको ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन् ।

ती बगानमा चियापत्ती बाझिँसकेको कारण नयाँ श्रम ऐन अनुसार ज्याला दिन नसकिने सांघाईं ग्रुपका अध्यक्ष सुवास सांघाईंले बताउनुभयो । ‘मुख्य सिजनको चिया पूरै बाझिँ सक्यो । अब कसरी हामीले चियाको ज्याला दिने ?’ सांघाईंले भन्नुभयो, ‘ त्यसमा पनि श्रमिकले पूरा कामै गर्दैनन् । जम्मा छ घण्टा काम गर्नुपर्नेमा चार घण्टा मात्र काम गर्छन् ।यहीँस्थितिमा पूरा ज्याला दिन सकिदैन ।’

उहाँका अनुसार श्रमिकले बगानको नियम अनुसार काम नगरेकाले पूरा ज्याला दिन नसकिएको हो । श्रमिकले पूरा काम गरेमा भने पूरा ज्याला दिन सकिने सांघाईंको भनाइ छ । ‘आधा काम गरेर पूरा ज्याला माग्न पाइन्छ । पूरा काम गरेमा पूरै ज्याला दिन्छौ’, अध्यक्ष सांघाईले भन्नुभयो ।

यता, चिया श्रमिक तथा नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक सङ्घका जिल्ला अध्यक्ष रमेश खड्काले भने श्रमिकले पूरा काम गर्नका लागि वगानको व्यवस्थापन दरिलो हुनु पर्ने बताउनुभयो । ‘श्रमिकले नियम अनुसार नै काम गर्छन् । तर, सांघाईं ग्रुपको व्यवस्थापन राम्रो हुनुपर्छ । व्यवस्थापन राम्रो नहुँदा त काम पूरा नहुन पनि सक्छ ।’

तर, अन्य चिया वगानमा सहमति जुटेपछि यी वगानमा पनि सहमति हुने आश पलाएको अध्यक्ष खड्काको भनाइ छ । सरकारले समेत समन्वय गरिदिएकाले तत्काल सबै वगानमा ज्याला कार्यान्वयन नभएपनि विस्तारै समस्या सुल्झिने खड्काले बताउनुभयो ।

नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनु पर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनु पर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनु पर्ने माग राख्दै गएको चैत १७ देखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए ।

श्रमिकले नयाँ ऐनमा सुरक्षा योजना अनुसार ७ प्रतिशतको कोष निर्माण गर्नुपर्ने ,श्रमिकलाई औषधि उपचारबापत २० हजार दिने, प्रसूति विदा नयाँ ऐनअनुसार ४५ दिनबाट बढाएर ७० दिन बनाउने, लगातार काम गरेको १५ वर्षपछि पेन्सनको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने चिया श्रमिकको भनाइ छ ।

सरकारले नयाँ श्रम ऐन अनुसार गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोके पनि श्रमिकले दुई सय ६५ देखि तीन सय आठ रुपैयाँसम्म मात्र पाउँदैथिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ रुपैयाँ थपेर चार सय २७ रुपैयाँ ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार चार सय ६९ रुपैयाँ र मङ्गी भत्ता चार हजार तीन सय ८१ रुपैयाँ तोकिएको छ । तर, यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ ।