मनिषा चम्लागाईँ
शनिश्चरे । झापाको सबैभन्दा पुरानो शनिश्चरे बजारको विकास तथा व्यवस्थापनमा अर्जुनधारा नगरपालिकाले चासो देखाएको छ ।

अर्जुनधारा नगरपालिकालाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजनाका साथ नगरले बजार व्यवस्थापनमा चासो देखाएको हो ।

नगरपालिकाल अहिले हाटबजार लाग्दै आएको क्षेत्रमा पार्क निर्माण कार्य सुरु गरेको छ । साप्ताहिक हाट बजारलाई अर्जुनधारा–८ स्थित सातपत्रेमा सारिसकेको छ । नगरपालिकालाई सातपत्रे आसपास थप एक बिगाहा जग्गा आवश्यक रहेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार प्रमुख रानाले बताए । उक्त जमिन खरिद गर्ने प्रक्रिया अघि बढाइएको अर्जुनधारा नगरपालिकाका प्रमुख राना बताउँछन् ।

शनिश्चरे पूर्वको पुरानो बजार साथै धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा चिनिन्छ । शनिश्चरे बजार परिसरमा पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाम पर्दछ ।

शनिश्चरेको सडक किनारामा बजार लाग्दा बजार क्षेत्र साँघुरिदँै गएको थियो । आवश्यक जग्गा खरिदका लागि जग्गा प्राप्ति ऐन २०३४ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र समेत बुझाएको प्रमुख राना बताउँछन् ।

नगरपालिकाले चालेको कदमले पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाम र शनिश्चरे बजारको रुपरेखा परिवर्तन हुने नगरपालिकाले जनाएको छ । बजार स्थानान्तरणको विषयमा वाणिज्य संघ, राजनीतिक दल, स्थानीय नागरिक सकारात्मक रहेको प्रमुख रानाको भनाइ छ ।

नगरपालिकाले सातपत्रे क्षेत्रमा प्राप्त गरेको १० कठ्ठा जमिनमा भवन निर्माणका लागि ठेक्का लागि सकेको छ । अर्जुनधारा नगरलाई पर्यटकीय गन्तव्य बनाउन बजार व्यवस्थापन प्रमुख आवश्यकता रहेको शनिश्चरे बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार भट्टराईले बताए ।

‘बजार क्षेत्र साँघुरो बन्दै गएको छ’, भट्टराईले भने, ‘हाटका दिन एउटा एम्बुलेन्स छिर्नसमेत समस्या हुने गर्छ ।’ सडक किनारमा नै सबै व्यवसाय सञ्चालन हुँदै आएकाले एकीकृत बजार निर्माणले अर्जुनधाराको पहिचान फेर्ने उनी बताउँछन् ।

शनिश्चरे बजारले १२५ वर्ष लामो इतिहास बोकेको भए पनि बजारको विकास भने हुन सकेको थिएन । प्राचीन बजारको व्यवस्थापन गर्ने नगरको दीर्घकालीन योजना भएकाले नगरको समन्वयमा बजार विस्तार गर्ने उद्देश्य रहेको शनिश्चरे उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त सोमानीले बताए ।

अहिलेको शनिश्चरे बजार दुई बिगाह सात कठ्ठा क्षेत्रमा फैलिएको थियो । सडक किनारमा समेत बजार लाग्दै आएकाले बजार र सडक साँघुरो बनेको साथै भौतिक संरचना निर्माणमा समस्या झेल्दै आउनु परेको सोमानी बताउँछन् । बजार सार्दा व्यवसायीलाई केही समस्या भए पनि दीर्घकालीन रुपमा फाइदा मिल्ने सोमानीको भनाइ छ । व्यवस्थित बजार निर्माणमा नगर, वाणिज्य संघ र स्थानीय नागरिकको चाहना रहेको अध्यक्ष सोमानीको भनाइ छ ।

विकाससँगै साँघुरो बन्दै गएको शनिश्चरे बजारमा ट्राफिक जाम, सडक दुर्घटना, अव्यवस्थित फोहोरमैला बढ्दै गएको देखिन्छ । दिगो विकासका लागि पुरानो बजारमा नयाँ पार्क बनाउन सके पर्यटकलार्ई समेत आकर्षण गर्न सकिने स्थानीय बताउँछन् ।

बहुसंख्यक व्यवसायी बजार सार्ने विषयमा सहमत छन् । केही व्यवसायी भने पुरानै स्थानमा बजार होस भन्ने सोचमा छन् । असन्तुष्ट स्थानीयलाई पनि वार्ताबाट सहमतिमा ल्याइएको छ ।

यसका अलावा अर्जुनधारा नगरपालिकाले अन्य क्षेत्रमासमेत संरचना निर्माण गरिरहेको छ । नगरपालिकाले अर्जुनधारा –६ र बिर्तामोड –५ को स्वागतद्वार गेट निर्माण गर्ने, शनिश्चरे चोकमा नेपालको पुरानो पहिचान बोकेको ऐतिहासिक गोरुगाडा निर्माण गर्ने, अर्जुनधाराको दुर्गा मन्दिरमा अर्जुन सवार हुँदै गरेको कृष्ण सारथीसहितको २६ फिट अग्लो रथ बनाउने, इलामको माई नगरपालिका सीमा क्षेत्रमा श्रीकृष्ण भगवानको प्रतिमा लगायतका संरचना निर्माण गर्दै पूर्वाधार विकासका काममा ध्यान दिएको जनाएको छ ।