सागर गौतम
खुदुनाबारी, झापा । शिरशिर बतास, डाँडामा टन्नतलापुर घाम । नजिकै बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिपधिप बल्ने कुपी । समसाँझैं सुनसान बन्ने गाउँ । चकम्मन, एकान्त र अनकन्टार छ । न त आमा दिदिबहिनीले उज्यालोमा घरधन्दा गरेका छन्। न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, दैनिक कामकाज गर्न सधैं अप्ठयारो छ ।

यसरी नै धेरै पुस्ताले आफ्ना जीवनका पलहरु अँध्यारा कोठामा बिताएको झापाका अर्जुनधारा नगरपालिका वडा–२ स्थित सहकाले भनेर चिनिने बस्ती जहाँ २ सय जनसंख्या रहेको छ ।

अर्जुनधारा–२को खुदुनावारी–बेल्टार–लाप्चेटार र इलामको रोङ गाँउपालिका–२ अन्तर्गत रहेको मंगलटार–धनसार हुँदै पुलविहिन टाङटिङ नदी पार गरेपछि पुगिने उक्त क्षेत्रमा राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्रीको मिश्रित बसोबास रहेको छ । उत्तरमा इलामको शिरिसे बतबासे, पूर्वमा फिक्कल, पश्चिममा माईनगरपालिका र दक्षिणमा रोङ र अर्जुनधारा नगरपालिका पर्दछ । नौलो मान्छे पुगेपछि हतपत नखुल्ने यहाँका मानिसहरु आफ्ना जीवनका अँध्यारा अध्याय सकिएको छ । सो क्षेत्रमा १७ घरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।

यसैबीच, झापाको अर्जुनधारा नगरपालिका–२, सहकालेका स्थानीय ५५ वर्षीया धनबहादुर बस्नेतले निर्वाचनमा खसाएको मत खेर नगएको बताए । गाउँमा बिजुली बत्ती आउँछ भनेर सपनामा देखेको थिइँन उनले भने, स्थानीय सरकारको ‘गर्ने आँट भए जे पनि हुँदोरहेछ । साविक खुदुनाबारी गाविस हुँदा रकम विनियोजन भएर कुनै विकास निर्माणको काम भएको मलाइ थाहा छैन’ तर अहिले यहाँ गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको भन्दै स्थानीयबासीम खुसीको सीमा नै थिएन ।

सहकाले बस्तीमा बिजुली पुग्दा यहाँका स्थानीय खुसी छन् । बल्लतल्ल दुःखले निर्माण भएको सामान्य ट्रयाक हिँडडुल गर्ने पुगे पनि वर्षायाम सुरु भएपछि त्यो पनि ठप्प नै हुन्छ । यहाँका स्थानीयले बिजुली बत्तीको मुख देख्न पाएका थिएनन् । खुदुनाबारी र इलामको सिमले क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी भएको ७० वर्षीय छविलाल मगरले बताए । उनले हर्षित हुँदै भने, स्थानीय सरकार हाम्रा लागि बरदान सावित भएको छ ।

आफू निर्वाचित भएपछि भूगोल नहेरी बाटो निर्माणका लागि नगरपालिकाको तर्फबाट योजना पठाएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए । त्यस क्षेत्रको विकासको लागि पटक–पटक स्थानीय जनताको आवश्यकता र मागको विषयमा मसिनो गरी संवाद गरेर योजना अगाडि सारेको उनको भनाइ छ । बाटो व्यवस्थापन आगामी वर्षको योजनामा नगरपालिकाले प्राथमिकतामा राखेको छ । निर्माण र विकासले सौतेनी डाहाँ परेको क्षेत्रहरुलाई समुन्नत समुचित र समयाअनुकूल विकास निर्माण गर्दै अगाडि बढाउने मेयर रानाको भनाइ रहेको छ ।

सानो बस्ती भए पनि नगरपालिकाले लगानी गरेर नागरिक बस्नयोग्य ठाउँ बनाउने अठोट गरेकोप्रति प्रदेश सासद बृख प्रधानले प्रशंशा गरे । जोडिएको विद्युतको संरक्षण, संवद्र्धन र दीर्घकाललीनरुपले अघि बढाउन अब स्थानीयको दायित्व बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
विद्युत् प्राधिकरण शनिश्चरे उपशाखाका कर्मचारी कमल रायले स्थानीय सरकारको लगानीमा ग्रामीण विद्युत्तीकरणलाई तीव्र पारिएको बताए । स्थानीय सरकारको पहलमा इलामको सिमलेबाट करिब ५ किलोमिटर क्षेत्रबाट विद्युतको पहँुच सहकालेमा पु¥याएको उनले जानकारी दिए ।

पर्यटकीय र सुन्दर ठाँउ हो, सहकाले । निकै गर्मी मौसममा समेत चिसो सिरेटो चल्ने विशेषता बोकेको छ सहकालेले । यहाँ जनताका चरम गरिबी, अभाव र अस्हय पीडा छन् । झापा जिल्लाको सबैभन्दा सम्भवतः उच्च स्थान भनेर चिनिने त्यस अर्जुनधारा नगरमा रहेको सो क्षेत्र पर्यटकीय केन्द्रका रुपमा समेत विकास गर्नका लागि कार्यक्रम समावेश गर्ने नगर प्रमुख रानाले बताए । बिजुली त बल्यो, गाउँघर खोप क्लिनिक भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । बाल शिक्षाको कार्यक्रम आगामी वर्षबाट संचालन गरी यहाँको जनजीवन फेर्ने लक्ष्य राखिएको नगर प्रमुख रानाले बताए ।

जब प्रदेश सासद बृख प्रधान र नगरपालिका मेयर रानाले संयुक्त रुपमा स्वीच अन गरे, बत्ती बल्यो। उनीहरुले बत्ती बाल्दा स्थानीयहरु दंग देखिन्थे । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर रानाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धतामध्येको एक प्रतिवद्धता पूरा गरेको बताए । अर्जुनधारा नगरपालिकाको ११ लाख र जनश्रमदानबाट २ लाख ८१ हजार ५३९ रुपैयाँ गरी १३ लाख ८१ हजार ५२९ रुपैयाँको लागतमा सहकालेमा बिजुली बत्ती बलेको पोल र तार विस्तार समितिका अध्यक्ष कृष्ण दंगालले जानकारी दिए ।

कार्यक्रममा नगरका उपमेयर कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडा–२ अध्यक्ष रघुनाथ खनाल, बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, समाजसेवी रुपनारायण समाल, स्वास्थ्य संयोजक मुकुन्द बस्नेत लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले गरेका थिए ।