इलाम/ इलाम लेकाली भेगका मुख्य नगदेबाली आलु यो पटक नफल्ने हो कि भन्ने चिन्ताले माईजोगमाइ ६ का कृषक कुमार राईलाई दिनरात पिरोलेको छ ।

पुस-माघमा ४० मन आलु रोपेर रातदिन बँदेल रुँगेर हेरचाह गरेको आलु चैत-बैशाखमा पटक पटक परेको असिना पानीले स्वाह पारेकोले उनको यो चिन्तामा परेको हो । असिना पानीले स्वाहा पारेर पुन: आलु फलाएर हौसिएकोले फल नलाग्ने उनको अनुमान छ ।

त्यस्तै माईजोगमाइ ६ का दिलबहादुर तामाङले यो वर्ष २० मन घटाएर ३० मन आलु रोपेको छन् । सधैंको वर्ष जस्तै जंगली जनवार बँदेलबाट छुटकारा लिए पनि प्राकृति असिना पानीबाट छुटकारा लिन सकेनन् । उनी पनि जमिनमुनि आलुको फल नभएको सजिलै अनुमान लगाउँछन् ।

‘हाम्रो वर्षभरीको घर खर्च टारीदिने खेती भनेको यहि आलु खेती थियो । यो पनि असिना पानीले लगिदियो’, कृषक यसोदा राई दुखेसो पोख्छ्न्, ‘अबका दिन कसरी कटाउने चिन्ताले पिरोल्न थालेको छ ।’

लेखाली माइजोगमाईको प्याङ जोगमाई र नयाँबजारको माथिल्लो क्षेत्रको आलु भारतीय व्यापारीहरु घरमा नै आएर लाने गरेका छन् । यी ठाउँबाट वर्सेनि करिब ३५ सय मन भारत निकासी हुने स्थानीय व्यापारी पासाङ शेर्पा बताउँछ्न् ।

नेपाली भन्दा भारतीय व्यापारीहरुले राम्रो भाउ दिएर घरैबाट आलु लाने गरेको माइजोगमाइका कुमार बुढाथोकी बताउँछ्न् । उनी भन्छन्, ‘६ वर्षदेखि भारतीय व्यापारीहरुले घरघरबाट आलु लान थालेपछि लेकाली क्षेत्रका कृषकहरुको क्रमिक मुहार फेरिन थालेका हुन् । यहाँ उत्पादित आलु जौबारी हुँदै मानेभञ्ज्याङबाट भारत निकासी गरिन्छ ।’

बँदेले आलु रोपेको ठाउँमा जोतेर दुख दिएर धेरैले आलु खेती बिस्तारै बिस्तारै छोड्दै गएको थियो । तर भारतीय व्यापारी भित्रिएपछि आलुको भाउसँगै आलु खेतिको विस्तार पनि बढेर जान थालेको हो ।

यस वर्षको लगातारको असिना पानीले आलु जमिनमुनि नै हराउने सम्भावना देखेकोले पुनस् आलु खेती छोड्दै जाने आलु कृषकहरुको योजना रहेको छ ।