धरान । धरानमा युवतीहरुलाई होटलमा बन्धक बनाएर यौन धन्दा गराउने चार जना पक्राउ परेका छन् ।

स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनासँग महँगो रकम लिएर यौन धन्दा गर्न बाध्य पारिने गरिएको थियो ।

युवतीलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ।

संखुवासभा, झापा, सुनसरी चतराका ३ युवती र धरानका तीन युवतीसहित ६ जनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको डिएसपी न्यौपानेले बताए ।

प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर बन्धक बनाइएका युवतीहरुको उद्धार गरेको हो।