पाँचथर/ दुई परिवारका नौ जनाको वीभत्स हत्याले पाँचथर पूरै शोकमा छ। मिक्लाजुङ गाउँपालिबासी भावविह्वल छन्।

मिक्लाजुङ ३ आरुबोटे आँसुमा डुबेको छ। जनताको भरोसा स्थानीय सरकार र सुरक्षाकर्मी नाजवाफ छन्। बमबहादुर फियाक र धनराज शेर्माको परिवारमा अब कोही छैनन्। घरभित्र विक्षिप्त शव मात्र छन्।

छोरी इक्सा शेर्मासँगै भाइको सबै परिवारको हत्याको गहिरो पीडामा छन् मासिमप्रसाद शेर्मा। आठ वर्षीया इक्साको शव कुरेको मात्र उनले घण्टौँ भयो तर, अनुहार देख्न पाएनन् । सुरक्षाकर्मीको लम्बिदोँ अनुसन्धानले उनलाई थप पीडा दिएको आभाष हुन्थ्यो । तर, शवसम्म देख्न  पाएनन् ।

‘मेरी एउटी छोरी थिई, उसलाई पनि मारिदिए,’ मासिमले भने, ‘घटना भएको १५ घण्टा भइसक्यो, छोरीको शव देख्न पाएको छैन।’ छोरीको हत्या पीडामा रहेका मासिमले अघिल्लो साल श्रीमतीले छोडेर गएको सम्झिए, ‘अघिल्लो साल श्रीमतीले छाडेर गई, अहिले छोरीलाई मारिदिए।’

घटनामा १४ वर्षीया सीता खजुम बाँच्न सफल भएकी छन् । उनको झापाको दमकमा उपचार भइरहेको छ । उपचार खर्च एक नम्बर प्रदेश सरकारले गर्ने भएको छ । उनी खतरामुक्त छिन् ।