झापा । अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले आफ्ना वडामा रहेका चौपायाको परजीवी नियन्त्रणको प्रयास गरेको छ ।

वडाको मिल डाँडा, पुरुष चौतारो, दाहाल चौक, पौडेल चौक र डाँडा गाउँमा शिविर सञ्चालन गरेको हो । वडाध्यक्ष नविन ढुंगानाले स्थानीय डम्बर भण्डारीको गाईलाई नाम्ले औषधि र भिटामिन चुंगेबाट ख्वाएर पशु परजीवी नियन्त्रण कार्यक्रमको उद्घाटन गरेका थिए ।

पशुमा देखिने, नदेखिने परजीवी नियन्त्रणका लागि वडाले विनियोजन गरेको एक लाख रुपैयाँको खर्चमा पशु शिविर सञ्चालन गरिएको वडाध्यक्ष ढुंगानाले जानकारी दिए । उनका अनुसार आन्तरिक तथा बाह्य परजीवी नियन्त्रणमा यस शिविरले सघाउ पुर्याउनेछ ।

पाँच स्थानमा सञ्चालन गरिएको शिविरमा नगरको पशुपंक्षी विकास शाखाका पशु विकास अधिकृत पदमलाल राईलगायत ८ जना प्राविधिक खटिएका थिए । जसमा गाईगोरु ३५०, राँगाभैँसी ४६, खसीबाख्रा २१७, बंगुर १६ र कुकुर ३ वटालाई नाम्ले, जुका, जुम्रा, उपिया र लुतोको औषधि प्रदान गरिएको थियो ।

कम्तिमा ५ सय वटा गाईवस्तु आउने लक्ष्य लिइए पनि विनियोजित बजेटबाट धेरैलाई सेवा प्रदान गर्न सकेकोमा वडाध्यक्ष ढुंगानाले खुसी व्यक्त गरे । उनका अनुसार गाउँमा माग अझै भए पनि अर्को वर्ष कार्यक्रम राखिनेछ ।

पौडेल चौक र मिल डाँडामा कार्यक्रम तालिका नभए पनि स्थानीय वडाबासीको मागलाई ध्यानमा राखेर शिविर थप गरिएको उनको भनाइ छ ।