फिदिम । पाँचथरको सर्वाधिक चासो रहेको स्याउडाँडा हवाई मैदान निर्माणको लागि दुई पटक सम्भाव्यता अध्ययन भए पनि निर्माण चरणमा पुग्न सकेन ।

अहिले जिल्लामा हवाइ मैदान निर्माणको कुरा गुमनाम भएको छ । २०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हवाइ मैदानलाई पुनः सम्भाव्यता अध्ययन गर्ने कार्य गत जेठमा गरिएको थियो । एक वर्षअघि नागरिक उड्यन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाई मैदानको पूरक सम्भाव्यता अध्ययन गरेको थियो ।

नौ वर्ष पहिला सम्भाव्यता अध्ययन गरिए पनि हवाइ मैदान निर्माण हुन नसक्दा स्थानीयहरु अब हवाइ मैदान निर्माण नहुने रहेछ, नेताहरुले हामीलाई भmुक्याएछन् भन्न थालेका छन् ।

स्याउडाँडा हवाइ मैदानको लागि सहि स्थान भएको यकिन भएपछि हवाई मैदान निर्माणको लागि स्थानीयले एक सय रोपनी जग्गा निःशुल्क र बाँकी प्रतिरोपनी दश हजार रुपैयाँको दरले हवाई मैदानका लागि जग्गा उप्लबध गराउने प्रतिबद्धता समते जनाएका थिए । तर, हवाइ मैदान निर्माणले गति भने लिन सकेको छैन ।

२०६७ सालमा पहिलो पटक सर्वे भएको हवाइ मैदान ८ वर्षपछि पुनस् सम्भाव्यता अध्ययन भएको भए पनि त्यसभन्दा पछाडिको कुनै काम अघि बढ्न सकिरहेको छैन । लामो समय बित्दा पनि हवाई मैदान निर्माणको काम अघि नबढ्दा स्थानीय निराश भइ मैदान निर्माण हुनेमा शंका गरिरहेका छन् ।

पाँचथरभन्दा पछि कुरा चलेको तेह्रथुमको चुहानडाँडामा बजेटसमेत छुट्याइदिने प्रतिबद्धता प्रधानमन्त्री केपी ओलीले गरिरहँदा छिमेकी जिल्ला पाँचथरका स्थानीयबासीहरु भने हवाइ मैदानको सपना देखिरहेका छन् ।

तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीले चुहानडाँडा बिमानस्थालको शिल्यानास गर्ने कार्यक्रमबाट र्फिकदै गर्दा ताप्लेजुङमा बिमान दुर्घटनामा ज्यान गुमाएका थिए ।

जिल्लाको एक कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमले हवाइ मैदान निर्माणको जिम्मा संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले संघीय सरकार र संघीय संसदसंग निरन्तर छलफल भइरहेको भन्दै अहिले बन्ने नबन्ने बिषयमा छलफल भइरहेको पनि बताएका थिए ।

पुन सम्भाव्यता अध्ययनमा १२ सय मिटर लम्बाई र ३० मिटर चौडाइको रन-वेका लागि सम्भाव्यता अध्ययन गरिएको अध्ययन टोलीले बताएको थियो । अध्ययनको प्रतिवेदन पाँच महिनाभित्रमा नागरिक उड्डयन प्राधिकरणमा बुझाइने र त्यसपछि हवाई मैदानको समग्र अध्ययन गरिने बाँकी अरु काम अगाडि बढाउने कुरा भए पनि अध्ययन भएको लामो समय बित्दा पनि बाँकी काम अघि बढ्न नसकेको हो । सम्भाव्यता अध्ययन गरिएको नौ वर्ष पूरा हुँदा पनि निर्माण कार्य अगाडि नबढ्दा स्थानीयहरुमा निराशा छाएको छ ।