बिर्तामोड । झापा बिर्तामोको कन्काइ हस्पिटलमा अब सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमका सेवाग्राहीले सेवा पाउने भएका छन् ।

हस्पिटलले आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो । निजी अस्पतालले स्वास्थ्य बिमाको सेवा दिने माइपूर्व कन्काइमात्र भएको हस्पिटलका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।

राईका अनुसार सरकारी सबै अस्पतालले स्वास्थ्य बिमासम्बन्धी सेवा उपलब्ध गराए पनि झापामा कन्काइसमेत तीन वटामात्र निजी अस्पतालले यो सेवा उपलब्ध गराउनेछ । जसमा दमकको लाइफलाइन हस्पिटल र एडभान्स हस्पिटलले यसअघि नै सेवा दिइरहेका छन् ।

उनका अनुसार हस्पिटलले सरकारी मापदण्ड पूरा गरेपछि स्वास्थ्य बिमाको सेवा दिन कन्काइ हस्पिटल योग्य भएको हो । अब सरकारले निर्धारण गरेको एक हजार १३३ वटा औषधि निशूल्क कन्काइ हस्पिटलले उपलब्ध गराउने पनि कार्यवाहक राईले बताए । त्यस्तै, ४८ वटा सर्जीकल सुविधा पनि हस्पिटलले प्रदान गर्ने भएको छ ।

५५ बेड क्षमताको यस हस्पिटलले स्तरोन्नति गर्दै अब १०५ बेडको विस्तार गर्दैछ । त्यस्तै, जनशक्ति पनि बृद्धि गर्ने उनले जानकारी दिए । हाल १३० जना जनशक्ति रहेको कन्काइ हस्पिटलमा ३० जना अझ थप गरिने बताइएको छ ।

तीन वटा अपरेशन थिएटर र पाँच वटा आईसीयु कक्षबाट स्वास्थ्य बिमाका सेवाग्राहीलाई कन्काइ हस्पिटलले अब स्वास्थ्योपचार गर्ने पनि राईले बताए । अन्य स्वास्थ्य संस्थाले औषधि निशुल्क भने पनि बजारको दरसँग सरकारी दर नमिलेको भन्दै बढी रकम बिरामीबाट लिने गरेको गुनासो छ । तर, कार्यवाहक राईले भने, ‘सरकारले तोकेको दरभन्दा एक पैसा पनि हामी बढी लिन्नौँ ।’

हस्पिटलमा आइबारदेखि नै स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बुद्धशान्ति गाउँपालिकाकी सेवाग्राही यादवकुमार सापकोटाले रिबन काटेर स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरेकी हुन् । शनिश्चरे स्वास्थ्य चौकीले रेफर गरेर आएकी ४८ वर्षीय उनी स्वास्थ्य बिमा कार्यक्रमको पहिलो सेवाग्राही पनि बनिन् ।

कनकाइ हस्पिटलले नै स्वास्थ्य बिमाको कार्यक्रमबाट स्वास्थ्य उपचार गर्ने भएपछि सरकारी अस्पतालबाट रेफर गरिएका जटिल रोगका बिरामीले जिल्लााबाहिर जानुपर्ने समस्या हटेको छ । यसअघि रेफर गरिएका बिरामील धरान तथा विराटनगर गएर उपचार गर्नुपर्ने बाध्यता थियो । यसले उनीहरुको आर्थिक क्षति पनि कम गर्ने अध्यक्ष राईको भनाइ छ ।